झापा : घर आँगन र खेतबारीमा सहजै देखिने भँगेरा हाल देखिन छाडेका छन् । घरको भित्ताको प्वाल, घरको छानामा गुँड लगाउने भँगेरा कम हुदैँ गएका हुन ।

जलवायु परिवर्तनले बढ्दै गएको तापक्रमका कारण भँगेरा झापा लगायतका क्षेत्रबाट लोप हुने संघारमा पुगेका छन् । बढ्दो गर्मीसँगै छाना बढी तात्ने भएकाले भँगेराले गुँडमा राखेको अण्डा बिग्रिने र भँगेराले तापक्रम सहन नसकि मर्ने गरेका छन् ।
हुलका हुल देखिने भँगेरा हाल कम मात्रै देखिने गरेको छ । झापा लगायत तराईका जिल्लामा केही वर्षदेखि तापक्रम ४० देखि ५५ डिग्रिसेल्सियससम्म पुग्ने गरेको छ । परम्परागत घरमा भँगेरालाई गुँड लगाउन र बस्नका लागि पर्याप्त ठाउँ हुने भएपनि हाल बन्ने पक्की घरमा भँगेराले गुँड लगाउने र बस्ने ठाउँ नहँुदा देखिन छाडेको वातावरणका जानकार बहादुर सिंह महराको भनाइ छ ।
बढ्दो ध्वनी, धुवाँ र माटो प्रदूषणका कारणसमेत भँगेराका प्रजाति लोप हुने अवस्थामा पुगेको उहाँले बताउनुभयो । भँगेराले आहाराका रुपमा रुचाउने किरा फट्यांग्रा र खेतमा छरेको अन्न नै हो ।
खेतबारीमा रासायनिक मल र विषादीको अन्धाधुन्ध प्रयोग गर्ने क्रम बढेपछि भँगेराको प्रजातिसमेत त्यसको चपेटामा परेको छ ।