धरान(डेस्क) : जग्गा बिक्री गर्दा बाटो भएर पनि नभएको सिफारिश गरेको, जग्गाको रजिष्ट्रेशन दस्तुर कम असुल गरेको अभियोगमा एक वडाअध्यक्ष र मालपोतका कर्मचारीसहित ७ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टचारको अभियोगमा मुद्दा दायर गरेको छ । मुद्दा दायर भएकामध्ये एक जना जग्गा बिक्रीकर्ता धरान १८ का हस्तराज ओखराबु(लिम्बू)समेत छन् ।

अख्तियारले मोरङको सिजुवा गाविस वडा नं ८ प को जग्गा खरीद बिक्री हुँदा मालपोत कार्यालय रंगेलीका कर्मचारीले जग्गाको थैली कम खुलाएको र लाभकर वापतको दस्तुर पनि कम लिएर राजश्व छली गरेको उजुरीको सम्बन्धमा अनुसन्धान गरेको थियो । अनुसन्धान पश्चात अख्तियारले मालपोतका नायब सुब्बा प्रदिप घिमिरे र अर्का नायब सुब्बा देवीप्रसाद लुँइटेलविरुद्ध भ्रष्टाचार निवरण ऐन २०४९ वमोजिम जनही १ लाख ७८ हजार ५ सय २५ रुपैया विगो माग दाबी गर्दै शुक्रबार बिशेष अदालतमा मुद्दा दायर गरेको जनाएको छ । यस्तै, सिजुवा गाविसका बहिदार नन्दलाल राजवंशीविरुद्ध ३ लाख १९ हजार ९ सय २५ रुपैया, रतुवामाई नगरपालिका वडा नं ७ का वडाअध्यक्ष दानालाल राजवंशीविरुद्ध १ लाख ७८ हजार ५ सय २५ रुपैया मागदाबी गरिएको छ ।

यस्तै, जग्गा बिक्रीकर्ता रतुवामाई नगरपालिका ८ का दुर्गाप्रसाद निरौलाविरुद्ध २ लाख ४६ हजार ८ सय ७५, जग्गा बिक्रीकर्ता धरान उपमहानगरपालिका वडा नं १८ का हस्तराज ओखराबु(लिम्बू)विरुद्ध २ लाख ३८ हजार ६ सय ७५ र जग्गा खरीदकर्ता पथरी शनिश्चरे नगरपालिका १ का सुर्यबहादुर श्रेष्ठविरुद्ध १२ हजार ९ सय रुपैया बिगो मागदाबी अख्तियारको छ । अख्तियारका सहायक प्रवक्ता मदन कोइरालाका अनुसार साविक किनं ३६५ वाट कित्ताकाट भई हाल कायम भएको किनं ४७९ को जग्गा १२ कट्ठा ५ धुर र कि.नं. थाहा नभएको १० धुर समेतको जग्गा हस्तराज ओखरावु (लिम्बु) र सूर्यबहादुर श्रेष्ठबीच खरिद बिक्री हुँदा रजिष्ट्रेशन फाँटका कर्मचारी मिली रजिष्ट्रेशन दस्तुर र ५ प्रतिशत पूँजीगत लाभकर घोटाला भएको छ ।

यस्तै, नक्सामा कच्ची सडक प्रष्ट देखिने उक्त जग्गाको मूल्याङ्कन ३३ लाख ३७ हजार ५ सय हुनुपर्नेमा मात्र २९ लाख ९० हजार देखाएर ५ प्रतिशतले लाग्ने लाभकरबापतको राजश्व समेत घोटाला गरेको अख्तियारले जनाएको छ । अनुसन्धान गर्दा गलत विवरण पेश गरी घरबाटो सिफारिस माग गरेको, आफ्नो क्षेत्राधिकार बाहिर गई बाटो भएको जग्गालाई बाटो नभएको भनी सिफारिस गरेको, असम्बन्धित वडाको घरबाटो सिफारिसको आधारमा जग्गाको मूल्याङ्कन भएको र पुँजीगत लाभकर तथा रजिष्ट्रेशन दस्तुर कम असुल गरी सरकारलाई हानिनोक्सानी पुर्‍याएकोले बिशेष आदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको सहायक प्रवक्ता कोइरालाले जानकारी दिए ।