अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसँगको सीमा क्षेत्रमा आपतकाल लागू गर्ने आफ्नो निर्णयको विपक्षमा कंग्रेस जाने भएपछि भिटो प्रयोग गरेका छन् ।

राष्ट्रपति ट्रम्पले आफ्नो चुनावी अभियानका क्रममा सीमा क्षेत्रमा पर्खाल लगाउने आश्वासन दिए पनि त्यस विषयमा सहमति जुट्न नसकेपछि आपतकाल लगाउने घोषणा गरेका थिए । तर, राष्ट्रपति ट्रम्पको आपतकालको निर्णयको विपक्षमा कंग्रेसको प्रस्तावमा ट्रम्पले भिटो प्रयोग गरेका हुन् ।
यसको अर्थ अब मेक्सिकोसँगको सीमा क्षेत्रमा आपतकाल लागू हुनेछ । ट्रम्पले सीमा क्षेत्रमा पर्खाल बनाउनका लागि आपतलकाल लगाउने निर्णयको विरोधमा ल्याएको प्रस्ताव बिहीबार कंग्रेसबाट पारित भएको थियो ।
यो प्रस्तावको पक्षमा स्वयम् ट्रम्पको दल रिपब्लिकनका १२ सांसद पनि थिए । ट्रम्पले यसमा भिटो प्रयोग गरेर सीमा पर्खालका लागि आफ्नो प्रतिबद्धता स्पष्ट पारेका छन् । राष्ट्रपति ट्रम्पको भिटो रद्द गर्नका लागि कंग्रेसको दुवै सदनमा अब दुई तिहाई मत चाहिन्छ, तर यो सम्भव नहुने बताइएको छ ।
ट्रम्पले सन् २०१७ मा सत्ता सम्हाले यता भिटो प्रयोग गरेको यो पहिलो पटक हो । भिटो प्रयोग गरेपछि उहाँले राष्ट्रपतिका रुपमा, देशको सुरक्षा आफ्नो सर्वोच्च जिम्मेवारी भएको बताएका छन् ।
कानुन कार्यान्वयन निकायका अधिकारी, होमल्याण्ड सेक्युरिटी मन्त्री क्रिस्टजेन निएलसन, उपराष्ट्रपति माइक पेन्स, महान्यायाधीवक्ता विलियम बारसहितको उपस्थितिमा ट्रम्पले भिटोमा हस्ताक्षर गरे ।

मेक्सिकोसँगको सीमा क्षेत्रबाट अवैध रुपमा आप्रवासी प्रवेश गर्ने गरेको र यसले देशको सुरक्षामा जोखिम उत्पन्न भएको भन्दै ट्रम्पले सीमा क्षेत्रमा पर्खाल बनाउनुपर्ने बताउँदै आएका छन् ।