धरान(डेस्क) : विराटनगरमा जारी पाँचौ साफ महिला च्याम्पियनसिप फुटबलमा आज शनिबार नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।


समूह चरणका अन्तिम खेल दिउँसो ३ बजे शहीद रंगशालामा हुनेछ । दुवै टिम सेमिफाइनलमा पुगिसकेकाले बिहीबारको नतिजाले समूह (ए) को विजेता र उपविजेताको टुंगो लगाउनेछ । घरेलु मैदानको भरपुर उपयोग गर्दै नेपाल समूह विजेता बन्ने दाउमा रहेको छ । नेपाल र बंगलादेशले भुटानलाई पराजित गर्दै समान तीन अंक जोडेका छन् । दुवै खेलमा पराजय भोगेपछि भुटान प्रतियोगिताबाट बाहिरिसकेको छ ।

नेपाल पहिलोदेखि तेस्रो संस्करणसम्मको उपविजेता र बंगलादेश अघिल्लो संस्करणको उपविजेता हो । नेपाल र बंगलादेशबीच अहिलेसम्म भएका पाँच खेलमा नेपालले चार खेलमा जित र एकमा बराबरी गरेको छ । इतिहास आफ्नो पक्षमा भएकाले बंगलादेशविरुद्ध जित निकाल्नु त्यति कठिन नभएको नेपाली टोलीको बुझाइ छ ।