इटहरी: प्रदेश १ को नामसँगै राजधानी कहाँ होला भन्ने चासो प्रदेश १ का आम जनतालाई छ । विभिन्न जिल्ला एवं सहरहरुले प्रदेश राजधानीको लागि पहल पनि गरिरहेका छन् । इटहरीबासीले पनि प्रदेश राजधानी बनाउन माग गर्दै शनिबार सांकेतिक मतदान गरेका छन् ।

राजधानी सरोकार समाजले आज शनिबार इटहरीलाई राजधानी बनाउने अभियान स्वरुप सांकेतिक मतदानमा आयोजना गरेको थियो । उक्त मतदान कार्यक्रममा कुल ८ सय मत खसेको थियो । जसमध्ये सबैभन्दा बढी ७ सय ४९ मत इटहरी राजधानी हुनुपर्छ भन्ने पक्षमा खसेको आयोजक समाजका सचिब शैलेश बिस्टले जानकारी दिए । 'अत्यधिक मत इटहरीमा राजधानी हुनुपर्छ भन्नेमा खस्यो,'उनले भने । उनका अनुसार खसेको मतमध्ये ३१ मत प्रदेश राजधानी धनकुटा हुनुपर्छ भन्ने पक्षमा खसेको छ भने मोरङको गोठगाउँ प्रदेश राजधानी हुनुपर्छ भन्ने पक्षमा २० मत मात्र खसेको छ । विराटनगर, चतरा र धरानको पक्षमा भने एक मत पनि खसेन ।

53731943_2202130106513665_1

मतदानमा सबैभन्दा शुरुमा इटहरी उपमहानगरपालिकाका प्रमुख एवं राजधानी सरोकार समाज इटहरीका संयोजक द्वारिकलाल चौधरीले मत खसालेका थिए । त्यस्तै, अन्य प्रतिष्ठित व्यक्तिहरुले पनि इटहरी राजधानी हुनुपर्छ भन्ने पक्षमा मत खसालेका थिए । हाल प्रदेशको अस्थायी राजधानी विराटनगरलाई घोषणा गरिएको छ । विराटनगरलाई स्थायी राजधानी बनाउन उपयुक्त नभएको भन्दै विराटनगरबाहेकका सांसद र राजनीतिक दलका नेताहरुले आवाज उठाउदै आएका छन् । विराटनगर बोर्डर नजिकै भएको साथै प्रदेश १ का १४ जिल्लालाई पायक ठाउँ पनि नभएको भन्दै आवाज चर्कोरुपमा उठिरहेको छ । बोर्डर सिटि नजिक राजधानी घोषणा गरे स्वीकार नगर्ने घोषणा गरेका इटहरीका अगुवाहरुले जनमतको कदर गर्न सरकारलाई आग्रहसमेत गरेका छन् ।

54362943_486367911898911_12