सोलुखुम्बु: जिल्लाको विभिन्न स्थानमा सञ्चालित नेपाली हाते कागज उद्योग क्रमैसँग बन्द हुन थालेका छन् ।

नेपाली कागजको महत्व भए पनि विभिन्न कारणले उद्योग सङ्कटमा पर्न थालेको उद्योगीहरू बताउँछन् । दश पन्ध्रवर्ष अघिदेखि सञ्चालन हुँदै आएका उद्योग अहिले अलपत्र भएका छन् । घरेलु तथा साना उद्योग विकास समितिको तथ्याङ्क अनुसार जिल्लामा दर्ता भएका २० यस्ता उद्योगमध्ये अहिले ४ वटामात्र जसोतसो सञ्चालनमा छ ।

खुम्बु पासाङल्हामु गाउँपालिका–१ जुभिङमा रहेको दूधकोशी कागज उद्योग अहिले बन्द छ । उद्योग सञ्चालक प्रेम थापामगरका अनुसार गाउँघरमा जनशक्ति अभावका कारण उद्योग बन्द भएको हो । नेपाली हाते कागज उद्योग सञ्चालन गरी रोजगारीसँगै आम्दानीसमेत लिने सोचमा रहेका उद्योगीले अहिले न रोजगारी नै दिन सकेका छन् न त मनग्य आम्दानी नै लिन पाएका छन् ।
महाकुलुङ गाउँपालिकाको सरस्वती नेपाली कागज उद्योग अहिले आठ कामदारको सहयोगमा जसोतसो सञ्चालनमा छ । सरकारी नीति, नियम झन्झटिलो भएकाले पनि उद्योग सङ्कटमा परेको हो । रासस