धरान(डेस्क) : विराटनगरमा जारी पाँचौं साफ महिला च्याम्पियनसिप फुटबलको समूह विजेता बनेको छ ।

शनिबार विराटनगरस्थित सहिद रंगशालामा भएको समूहको अन्तिम खेलमा बंगलादेशलाई ३–० ले हराउँदै नेपाल समूह विजेताका रुपमा अन्तिम चारमा पुगेको हो । दुवै टोली एक खेलअगावै प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरिसकेका थिए । शनिबारको खेलले समूह विजेता र उपविजेताको छिनोफानो भएको हो ।

नेपालको जितमा सावित्रा भण्डारी र मञ्जलीकुमारी योञ्जनले एक र एक गोल गरे । सावित्राले खेलको २३ औं र मञ्जलीले २८ औं मिनेटमा गोल गरेका हुन् । बंगलादेशले छैटौं मिनेटमा एक आत्मघाती गोल गरेको थियो ।तीन टोली सहभागी समूह ‘ए’मा रहेको नेपालले दुई खेलबाट ६ अंक जोड्दै समूह विजेता बनेको हो । पराजित बंगलादेश समूह उपविजेतामा सीमित बन्यो ।

नेपालले आफ्नो पहिलो खेलमा भुटानलाई ३–० ले नै हराउँदा बंगलादेशले भुटानलाई २–० ले पराजित गरेको थियो । समूह चरणका दुवै खेलमा पराजित हुँदै भुटान यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको छ । नेपालले अब सेमिफाइनलमा समूह ‘बी’ को उपविजेतासित प्रतिस्पर्धा गर्नेछ । भारत र श्रीलंकाबीच आइतबार हुने खेलले समूह ‘बी’को विजेता र उपविजेताको टुंगो लाग्नेछ ।