ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “व्यवसाय गर्न चाहनेलाई तालिम र लगानी” शीर्षकको समाचार छापिएको छ । तेह्रथुमको अठराई गाउँपालिकाले व्यवसाय गर्न चाहने युवाहरुलाई तालिम र लगानी गरिदिएर स्वरोजगार बनाउने योजना ल्याएको छ । गाउँपालिकाले ५ वर्षभित्रमा सबै युवाहरुलाई स्वरोजगार बनाउने लक्ष्य लिएको छ । ‘केही गर्छु भन्ने जोस र जागर भएका युवाहरुलाई निशुल्क तालिम र अनुदानमा रकम उपलव्ध गराइनेछ ।’ गाउँपालिकाका अध्यक्ष मानबहादुर लिम्बु भने, ‘युवालाई स्वरोजगार बनाउने गाउँपालिकाले गतवर्ष १० लाख र यो वर्ष पनि १० लाख विनियोजन गरेको छ । यो रकमले नपुगे निर्णय गरेर बाँकी रकम पनि विनियोजन गर्नेछौ ।’ नेपालमा अवसर नपाएर विदेश जान बाध्य भएका युवाहरुलाई गाउँमै स्वरोजगार बनाउन यस्ता योजना अघि सारिएको गाउँपालिकाले जनाएको छ ।

त्यसैगरी आजको ब्लाष्ट टाइम्स दैनिकमा “स्थानीयको अवरोधले खोलाको ठेक्का रद्द” शीर्षकमा अर्को समाचार पनि छापिएको छ । झापाको अर्जुनधारा नगरपालिकाले चालु आर्थिक वर्षमा नदीजन्य सामग्री उत्खनन्का लागी लगाएको ठेक्का रद्द गर्ने भएको छ । नगर कार्यपालिकाको आइतबार आज बस्ने बैठकले नदीजन्य सामग्रीमा लगाएको ठेक्का रद्द गर्ने भएको हो । नगरपालिकाले नगरक्षेत्रमा रहेका नदीजन्य सामग्री उत्खनन् र बिक्रीका लागि स्थानीय एसयुएस कन्ट्रक्सनलाई २ करोड ६२ लाख रुपैयाँमा ठेक्का लगाएको थियो । ठेक्का लागेको ६ महिना बितिसक्दा पनि नगरापालिकाले नदीजन्य सामग्री उत्खनन् गर्ने वातावरण मिलाउन नसकेपछ ठेक्का रद्द गर्ने निर्णयमा पुगेको हो । कार्यपालिकाको निर्णयपछि प्रदेश सरकारसमक्ष अनुरोध गरेर ठेक्का रद्द गर्ने तयारी नगरपालिकाको रहेको छ ।

नागरिक पूर्वेली : आजको नागरिक पूर्वेली दैनिकमा “मौलायो लागुऔषध कारोबार” शीर्षकको समाचार छापिएको छ । असोज २४ गते भारतबाट लागुऔषध ल्याउने क्रममा इटहरी ९ का ३५ वर्षीय पूजा भन्ने लक्ष्मी श्रेष्ठ र सिन्धुपाल्चोक हेलमबु गाउँपालिका २ घर भई काभे्र मण्डन देउपुर ८ मा ज्योति मेडिकल सञ्चालन गर्ने २८ वर्षीय अनिल ज्योति पक्राउ परे । यी दबैले जोगवनीबाट इटहरीसम्मा ल्याएर काभे्र, काठमाण्डौँ लगायतका स्थानमा पेशेवर रुपमा पठाउने काम गर्ने गरेको प्रहरीले बयान लिदाँ खुल्यो । लक्ष्मीले जोगवनीबाट इटहरीसम्म ल्याएर काभे्रमा मेडिकल सञ्चालन गर्ने अनिललाई गिफ्ट सामग्री प्याक गरे जसरी गाडीमा पठाएर पश्चिमका जिल्लामा खपत गर्ने गरेको अनुशन्धानबाट खुलेको थियो । असार १७ गते कोशी राजमार्गअन्तर्गत इटहरी वडा नं. २० को तरहरामा प्रहरीको गस्ती टोलीले चेक गर्दा धनकुटा छिन्ताङ वडा नं. ३ का ३३ वर्षीय विष्णु राई पक्राउ परे । उनले का १ ह ८५६५ नम्बरको टेम्पोमा गाँजा बिक्रीका लागि लाने क्रममा पक्राउ परेका थिए ।

उद्घोष : आजको उद्घोष दैनिकमा “सप्तकोशीमा फालिएको शव नभेटिएपछि अन्योल” शीर्षकको समाचार छापिएको छ । मोरङको बेलबारी ४ बाट १२ दिनदेखि बेपत्ता रहेकी महिलाको शव नभेटिएपछि हत्या अभियोगमा पक्राउ परेका बेलबारीका योगेन्द्र गुरुङलाई महिला बेपत्ता अभियोगमा मुद्दा दर्ता गर्ने तयारी प्रहरीले गरेको छ । गत फागुन १७ गतेदेखि बेलबारीबाट बेपत्ता भएकी राईलाई अभियुक्त गुरुङले हत्या गरी कोशीमा लगी फालिएको स्वीकार गरेपनि सो क्षेत्रबाट शव नभेटिएपछि गुरुङलाई हत्या अभियोगमा मुद्दा लगाउने या बेपत्ता अभियोगमा लगाउने बारेमा प्रहरी नै अन्योलमा परेपछि प्रहरी वृतमा समेत निकै तनाव सुरु भएको छ ।