झापा : खानेपानी तथा सरसफाई उपभोक्ता समिति गौरादहको निर्वाचन नजिकिएको छ ।

जतिजति निर्वाचन नजिकिदै छ त्यती त्यती चुनावी सरगर्मी बढेर गएको छ । चैत्र १६ गते सम्पन्न हुने निर्वाचनमा आफ्नो पक्षमा मतपरिणाम ल्याउन नेता तथा कार्यकर्ताहरु भोट माग्न मतदाताको घर आँगनमा पुग्न थालेका छन् । खानेपानीको निर्वाचनमा तत्कालीन नेकपा माओवादी मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी आफ्नो उम्मेदवार सहित चुनावी मैदानमा उत्रिएको छ भने नेपाली काँग्रेस राप्रपा लाई साथ लिएर चुनावी मैदानमा उत्रिएका छन् ।
निर्वाचनमा दुई प्यानल बिच प्रतिस्पर्धा हुने निश्चित भएको छ । नेकपाले युवा नेता दुर्गा गौतमलाई अध्यक्ष पदको उम्मेदवार बनाएको छ । सामाजिक क्षेत्रमा अग्रणी भुमिका निर्वाह गर्दै आएका गौतम यस अघि सोही संस्थामा उपाध्यक्ष रहेका थिए । गौतम लामो समयदेखि सामाजिक काममा निक्कै सक्रिय रहेका छन् ।

स्मरणीय यो छ कि यिनै गौतमको सक्रियतामा अर्थमन्त्री डा. युवराज खतिवडाको घर जाने बाटोमा बन्न नसकेको पक्की पुलको बिकल्पमा भाटे पुल लगाएर भएपनि बितेको बर्खामा नागरिकलाई सास्ती हुनबाट जोगाएका थिए । यस्तै उनले बिगतमा खानेपानीमै रहेर उपाध्यक्ष पद सम्हालिसकेका कारणपनि उनको पल्ला पारी भएको स्थानीयहरु बताउँछन् ।

नेपाली काँग्रेसले भने शैक्षिक व्यक्तित्व बाबुराम भण्डारीलाई अध्यक्ष पदमा उम्मेदवार बनाएको छ । शैक्षिक तथा बौद्धिक व्यक्तित्वका रुपमा चिनिएका भण्डारी यस अघि पनि सोही संस्थाका अध्यक्ष रहेका थिए । सचिव पदमा भने नेकपाले शैक्षिक तथा बौद्धिक व्यक्तित्व डण्डीराज घिमिरेलाई अघि सारेको छ । नेपाली काँग्रेस राप्रपा गठबन्धनले सचिव पदमा देवेन्द्र कुमार खड्कालाई उम्मेदवार बनाएको छ । खड्का राप्रपा पक्षका हुन् । खानेपानी तथा सरसफाई उपभोक्ता समितिको कार्यअवधि ३ वर्षको रहने छ । यस संस्थामा २२५६ जना मतदाता रहेका छन् ।