न्यूजिल्यान्डको क्राइस्ट चर्च्स्थित दुई वटा मस्जिदमा गत शुक्रबार भएको आक्रमणमा एक जनाको मात्र संलग्नता रहेको निष्कर्ष त्यहाँको प्रहरीले निकालेको छ ।

अस्ट्रेलियाका नागरिक २८ वर्षीय ब्रेन्टन ट्यारेन्ट मात्रै घटनामा संलग्न देखिएको प्रहरीले जनाएको छ । उनले मस्जिदमा आक्रमण गरी फेसबुकबाट प्रत्यक्ष प्रसारणसमेत गरेका थिए । घटनामा संलग्न रहेको आशंकामा अन्य तीन जना पक्राउ परेको भए पनि उनीहरु निर्दोष देखिएको न्यूजिल्यान्डका पुलिस कमिसनर माइक बुसले जानकारी दिए ।
घटनाबारे अनुसन्धान भने भइरहेको उनले बताए । क्राइस्ट चर्च्स्थित अल नूर र लिनउड मस्जिदमा अन्धाधुन्ध गोली प्रहार हुँदा ५० जनाको मृत्यु भएको थियो भने ५० जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ । हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका अस्ट्रेलियन नागरिक ब्रेन्टनलाई प्रहरीले अदालतमा उपस्थित गराएको थियो ।
उनलाई आगामी अप्रिल ५ सम्म हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।