धरान(डेस्क) : विराटनगरमा जारी पाँचौं साफ वुमन्स च्याम्पियनसिप फुटबलको लिग चरणको अन्तिम खेलमा आज भारत र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल स्थानीय शहिद मैदानमा अपराह्न ३ बजे सुरु हुनेछ । एक खेल अगावै सेमिफाइनलमा स्थान बनाएका यी दुई बीचको प्रतिस्पर्धाले समूह बीको विजेता र उपविजेताको टुंगो लगाउनेछ । आजको खेलमा बराबरीले मात्र पनि भारतलाई समूह बीको विजेता बनाउनेछ । दुबै खेलमा पराजित माल्दिभ्स लिग चरणबाटै बाहिरिसकेको छ ।

माल्दिभ्स भारतसँग ६–० र श्रीलंकासँग २–० ले पराजित भएको थियो । समूह बीको उपविजेताले समूह एको विजेता नेपालसँग प्रतिस्पर्धा गर्नेछ भने विजेताले समूह ए को उपविजेता बंगलादेशसँग खेल्नेछ । लिग चरणमा नेपालले बंगलादेश र भुटानलाई समान ३–० ले पराजित गर्यो भने बंगलादेशले भुटानलाई २–० ले हराएको थियो ।