धरान:उपकुलपतिलाई बर्खास्त गरेपनि स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले आज वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान आएर प्राध्यापक चिकित्सक र कर्मचारीहरुसँग छलफल पनि गरेका छन् ।

मन्त्री यादवले उपकुलपति कार्यालयको बैठक कक्षमा विभागीय प्रमुख, महाशाखा, शाखा प्रमुख तथा प्राध्यापक चिकित्सक र कर्मचारीहरुसँग छलफल गरेका थिए । प्रतिष्ठानलाई कसरी अघि बढाउने भनेर राय सुझाव लिन तथा गुनासोहरु सुन्न मन्त्री धरान आएका हुन् । उनी स्वास्थ्य सचिव चन्द्र घिमिरेसँग धरान आएका थिए । सचिव घिमिरे धरान निवासी हुन् । करिब डेढ घण्टासम्म मन्त्री यादवले विभागीय प्रमुख, प्राध्यापक चिकित्सक तथा कर्मचारीहरुसँग छलफल गरेका थिए । त्यसपछि उनले प्रतिष्ठानको अनुगमन पनि गरेका थिए ।

बैठकमा सहभागी कर्मचारी कल्याण समाजका अध्यक्ष सुजेन्द्र तामाङका अनुसार अधिकांशले पदाधिकारी नियुक्तीमा हुन चलखेलको बिषयमा बोलेका थिए । आर्थिक चलखेल र राजनीतिक आस्थाको आधारमा नियुक्ती गरिदा प्रतिष्ठानको अवस्था बिग्रिएको भन्दै अबको उपकुलपति नियुक्ती त्यस्तो नगर्न आग्रह गरेका थिए । ‘सबैले राजनीतिक आस्थाको आधारमा र आर्थिक चलखेलमा नियुक्ती हुदा सक्षम नेतृत्व नपाएको कुरा राख्यौ,’उनले भने ।

IMG_20190317_123011

यस्तै, प्रतिष्ठानको विकास र विस्तारको कामलाई अघि बढाउन पनि चिकित्सक, कर्मचारीहरुले आग्रह गरेका थिए । निर्माण ठप्प भएको एमसिएच, अंकोलोजी, कार्डियोलोजीलाई सुचारु गर्न साथै आइसियु, डाइलाइसिस सेवा विस्तार गर्न पनि आग्रह गरेका थिए । यसैगरि, पदाधिकारीबाहेकका डिन, एसिस्टेन्ट डाइरेक्टर, क्याम्पस चिफलगायत आन्तरिक प्रशासनिक नियुक्तीहरुमा पनि निश्चित मापदण्ड बनाएर मात्र नियुक्ती गर्नुपर्ने सुझाव दिएका थिए ।

मन्त्री यादवले सबैको गुनासो, राय तथा सुझाव लिदै प्रतिष्ठानको रोगको शल्यक्रिया भएकोले विस्तारै ठिक हुदै जाने बताएका थिए । ‘वीपी प्रतिष्ठानको गरिमा, प्रतिष्ठालाई माथि उठाउन, यहाँको अराजकता र अनुशासनहिनतालाई निर्मुल पार्न शल्यक्रिया भएको छ, अन्य अंगहरुको पनि विस्तारै हुदै जान्छ,’मन्त्री यादवले भने,‘अब हिजोको तरिकाले हुदैन, विधिसम्मत र पारदर्शीरुपमा अघि बढाउनुपर्छ ।’चिकित्सक, कर्मचारीहरुसँग छलफल गरिसकेर मन्त्री यादवले प्रतिष्ठानको अनुगमन पनि गरेका थिए ।