धरान: वीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान धरानको उपकुलपति पदबाट डा.राजकुमार रौनियार हटाइए पछि आज अचानक उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव प्रतिष्ठान आएका थिए ।

उनी प्रतिष्ठान आउने खबर फैलिएपछि वडा नं १८ का वडाअध्यक्ष प्रविण राईसहित स्थानीय तथा युवाहरुको टिमले आज आइतबार प्रतिष्ठानको मुलमेट बाहिर विरोध प्रर्दशन गरेका थिए । उनीहरुले प्र्रतिष्ठानमा राजनीतिक हस्तक्षेप भएको र आर्थिक चलखेलमा नियुक्ती गर्न उपकुलपति रौनियारलाई हटाइएको भन्दै विरोध जनाए । प्ले कार्डसहित उनीहरुले प्रतिष्ठानमा राजनीतिक हस्तक्षेप बन्द गर्नुपर्ने, आर्थिक चलखेलमा उपकुलपति नियुक्तीलाई बन्द गर्नुपर्ने माग गरेका थिए । साथै, प्रतिष्ठानमा विगतमा भएको भ्रष्टचार र आर्थिक अनियमितताबारे अख्तियारबाट भइरहेको छानबिन तामेलीमा राखिएकोमा तत्काल शुरु गर्नुपर्ने पनि उनीहरुले माग गरेका छन् ।

upendra-birodh1

वडा नं १८ का अध्यक्ष प्रविण राईले प्रतिष्ठान राजनीतिक र आर्थिक चलखेलमा नियुक्तीको स्वार्थले धरासायी बनाएको कारण प्रर्दशन गरिएको बताए । उनले उपकुलपतिबाट रौनियारलाई वर्खास्त गर्नुमा पनि राजनीतिक पुर्वाग्रह र आर्थिक चलखेल नै मुख्य कारण भएको बताए । 'वीपी प्रतिष्ठानलाई प्रयोगशालाजस्तो बनाए, जो मन्त्री भएर आउछन्, उसैले आफ्नो स्वार्थको लागि र नियुक्तीको खेलले धरासायी बनाए,'अध्यक्ष राईले भने,'यो क्रम रोकिनुपर्छ । चलखेल बन्द हुनुपर्छ र भ्रष्टाचारको छानबिनलाई अख्तियारलाई तामेलीमा राखेको छ, त्यसलाई पुनः छानबिन गर्नुपर्छ भन्ने माग हो ।'

उपकुलपति पदबाट रौनियारलाई हटाउनुमा मन्त्री यादवको मात्र एकल निर्णय र स्वार्थ भएको अध्यक्षर राईले बताए । त्यसमा पनि निष्पक्ष छानबिन गर्नुपर्ने उनले बताए । यस्तै, रौनियार पक्षका कर्मचारीहरुले पनि हातमा कालोपट्टी बाँधेर प्रतिष्ठान परिसरभित्रै विरोध जनाएका थिए । कर्मचारी कल्याण समाज तदर्थ समितिका संयोजक राजन कोइरालालगायत कर्मचारीहरुले कालोपट्टि बाँधेर विरोध गरेका हुन् । उनीहरु पनि रौनियारलाई बर्खास्त गरिएकोमा सन्तुष्ट छैनन् ।