विर्तामोड: विगत २०३ वर्षदेखि नेपालको करिब ६० हजार वर्ग किलोमिटर जमिन इष्ट इण्डिया कम्पनी र पछि भारतको उपनिवेशले कब्जा गरेकोले सुनुवाईको अनुरोध गर्दै ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले ग्रेटर नेपालको नक्सा लिएर संयुक्त राष्ट्र संघ मानव अधिकार परिषद् अगाडि प्रर्दशन गरेको छ ।

नेपाली समयअनुसार हिजो साँझ ४ः३० बजेतिर जेनेभास्थित संयुक्त राष्ट्रसंघको अघि ब्रोकन चेयरमा मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले ग्रेटर नेपालको नक्सा प्रदर्शन गरेका हुन् । ब्रोकन चेयरमा गत बिहीबार गर्ने भनिए पनि जेनेभामा दिनभर पानी परेका कारण शनिबार मात्र भएको मोर्चाका अध्यक्ष नेपालले बताएका छन् ।

ग्रेटर नेपालका अभियन्ता नेपालले टेलिफोनमा बताएअनुसार पहिला संयुक्त राष्ट्रसंघको प्रांगाणमा संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रहरूको झन्डासँगै राखिएको नेपालको राष्ट्रिय झन्डाका अघिल्तर ग्रेटर नेपालको नक्साको नक्सा प्रर्दशन गरिएको थियो । त्यसपछि उनलाई साथ दिन त्यहाँ अइपुगेका नेपालीहरूले पनि ग्रेटर नेपालको नक्सा प्रदर्शन गरी नेपालको जमिनमा भारतीय उपनिवेशको विरोध गरेका थिए ।

सञ्चारकर्मीले जेनेभा पुगेर ब्रोकन चेयरमा ग्रेटर नेपालको नक्सा प्रदर्शन गर्न पाउँदा तपाईंलाई कस्तो लागेको छ भनेर सोध्दा मोर्चाका अध्यक्ष नेपालले ग्रेटर नेपाल आन्दोलनलाई यस घटनाले अर्को मोडमा र्पुयाइदिएकोमा आफूलाई खुसी लागेको प्रतिक्रिया दिएका थिए । साथै, उनले उत्तरदायित्व पनि बढेको बताएका छन् ।