धरान: नेपाल सरकारका उपप्रधानमन्त्रीसमेत रहेका स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले वीपी कोइराला स्वास्थ्य विज्ञन प्रतिष्ठानको उपकुलपति नियुक्तीमा कुनै आर्थिक लेनदेन नहुने दाबी गरेका छन् ।

आइतबार अचानक वीपी प्रतिष्ठानको अनुगमनमा आएका मन्त्री यादवले कर्मचारी तथा चिकित्सकहरुसँग छलफल गरी राय सुझाव लिने क्रममा यस्तो बताएका हुन् । छलफलको क्रममा चिकित्सक एवं कर्मचारीहरुले प्रतिष्ठानमा पदाधिकारी नियुक्ती हुदा आर्थिक लेनदेन हुने गरेको र त्यसले प्रतिष्ठानमा सक्षक, कुशल नेतृत्व पाखा लाग्ने गरेको गुनासो गरेका थिए । सबैको गुनासो सुनेपछि मन्त्री यादवले प्रतिष्ठानको रिक्त उपकुलति पदमा नियुक्ती गर्दा यसपाली कुनै पनि आर्थिक चलखेल नगर्ने प्रष्ट्याएका थिए । ‘पदाधिकारी नियुक्तीमा आर्थिक चलखेल, ठेक्का लिने भन्ने कुरा धेरै आयो, अब त्यस्ता दिनहरु गए,’मन्त्री यादवले भने,‘कुनै पनि किसिमको चलखेल, लेनदेन हुदैन, यहाँ भिसि पनि सक्षम, कुशल नेतृत्व नै आउछन् ।’

मन्त्री यादवले भर्खर मात्र न्याम्समा पदाधिकारी नियुक्ती भएको उदाहरण दिदै त्यहाँ स्वच्छ र परदर्शीढंगले विना आर्थिक चलखेल योग्यता हेरेर नै नियुक्ती गरेको जिकिर गरे । प्रतिष्ठानमा पनि शैक्षिक, प्रशासनिक नेतृत्व गर्नसक्ने व्यक्तिलाई नै उपकुलपति बनाउने मन्त्री यादवले बताए । ‘अहिले तत्काल निमित्तकोरुपमा व्यवस्थापन रहन्छ, र केही समयभित्रै प्रक्रियाबाट सक्षम, योग्य नेतृत्व वीपीमा आउछ,’उनले भने ।

योग्य भेटिए वीपीबाटै नत्र बाहिरबाट

मन्त्री यादवले योग्य र सक्षम व्यक्ति भए वीपी प्रतिष्ठान भित्रबाटै उपकुलपति बनाउने संकेत गरे । तर, योग्य व्यक्ति नभेटिए प्रतिष्ठान बाहिरबाट नेतृत्व ल्याउने उनको भनाई थियो । योग्य व्यक्ति प्रतिष्ठानभित्रै भए सहयोग गर्न पनि उनले आग्रह गरेका थिए । ‘संस्थालाई योगदान दिएकोे, क्षमतावान् व्यक्ति भए तपाई हामी सबैले सम्मान गर्नुपर्छ,’मन्त्री यादवको भनाई थियो ।

bpkihs-&-upendra-yadav

अनुशासन तोड्नेलाई कारबाही

मन्त्री यादवले प्रतिष्ठानको नेतृत्वसँगै कर्मचारी, प्राध्यापक चिकित्सकहरुलाई पारदर्शी र अनुशासनमा रहन पनि मन्त्री यादवले निर्देशन दिएका थिए । अनुशासन तोड्ने जोकोहीलाई कारबाही हुने पनि उनले बताए । ‘वीपीको नेतृत्व आफै पनि अनुशासनमा बस्नुपर्छ । अनुशासन तोड्ने जो कोहीलाई कारबाही गर्नुपर्छ, त्यसमा कुनै मोलमोलाइ हुदैन,’मन्त्री यादवले भने,‘ढिलासुस्ती, अनुशासनहिनता, अपारदर्शिता र दण्डहिनतालाई प्रसय दिनुहुन्न ।’

बीपीलाई मेडिकल विश्वविद्यालय बनाउने

प्रतिष्ठानलाई मेडिकल विश्वविद्यालयकोरुपमा अघि बढाउन ऐन संशोधन गर्ने तयारीमा मन्त्रालय जुटेको मन्त्री यादवको भनाई थियो । प्रतिष्ठानको विद्यार्थी कोटा डेढ सयबाट सयमा सिमित पारेकोप्रति असन्तुष्टी जनाउदै मन्त्री यादवले कम्तीमा डेढ सय, नभए २ सय कोटा बढाउन नेपाल मेडिकल काउन्सिललाई पत्र पठाइसकेको पनि खुलाए ।