विर्तामोड : झापाको अर्जुनधारा नगरपालिकाले लगाएको खोला ठेक्कामा स्थानीय मजदुरको नामबाट गरिएको अवरोध लामो समयको छलफल पछि टुङ्गीएको छ ।

अर्जुनधारा नगरपालिकाले विगत ६ महिना अगाडी लगाएको ठेक्कामा स्थानीय मजदुरका नामबाट गरिएको विरोधका कारण ठेकेदार कम्पनीले नदिजन्य सामाग्री उत्खनन गर्न सकेको थिएन । नगरपालिकाले तयार भएको आइ इ प्रतिवेदन अनुसार उत्खननका लागी योग्य स्थानको पहिचान गरि सिमाना लगाएर ठेक्का लगाएको थियो । तर स्थानियका नामबाट विभिन्न राजनितीक दलहरुबाट वडा कार्यालय तालावन्दि देखी ज्ञापन पत्र बुझाउने कार्य निरन्तर जारी रहेपछी नगरपालिकाको तर्फबाट विभिन्न समयमा पटक पटक वैठक सञ्चालन गरी स्थानीयको माग र सर्त अनुसार काम गर्ने भएपछि अवरोध हटेको हो । 

सहमतिमा खोलामा चेक ड्याम कस्न डिपिआर तयार गर्न सुरु गर्ने, खानेपानी तथा नहरका मुहानहरुको संरक्षण तथा ब्यवस्थापन गर्ने, बुद्धशान्ति गाउँपालिकाको पनि सहयोगमा जोखिम स्थानको पहिचान गरी जनताको तटबन्धनबाट निर्माण गर्ने गरी प्लमवाल निर्माण गर्ने सहमति भएको छ । यस्तै, ठेकेदार कम्पनीलाई नदिजन्य पदार्थ उत्खननमा कहि कसैले पनि अवरोध नगर्ने, नगरपालिकाको वडा कार्यलयबाट वितरण गरिने मजदुर परिचयपत्र अर्थात सुचिकरण यथार्थपरक हुने गरी परिमार्जनका लागि आवश्यक मापदण्ड बनाउने, खोलामा आश्रित मजदुरहरुलाई अवरोध नगर्ने लगायतका ६ सुत्रिय निर्णय गरी खोला अवरोध हटेको हो ।

अर्जुनधारा नगरपालिका वडा नं. १ मा रहेको हलुवागढ सामुदायिक वन कार्यालयको सभाहलमा करिव ५ घण्टा लामो छलफल र बहस गर्दै स्थानीय राजनितिक दल, मजदुर, अर्जुनधारा नगरपालिकाका मेयर, उपमेयर, सम्पुर्ण वडाका वडा अध्यक्षहरु तथा प्रमुख प्रशासकीय अधिकृत वुद्धशान्ति गाउँपालिकाका अध्यक्ष लगायत स्थानीय आम नागरिकहरुको सहभागितामा छलफल तथा सहमती भएको हो । स्थानीयको खोला अवरोध हटेसँगै खोलाका मुहानहरु ब्यवस्थित गर्ने तथा स्थानीयस्तरमा पानीको श्रोत ब्यवस्थित हुने, खानेपानि तथा सिंचाइका लागि नहरका मुहान ब्यवस्थित साथै बाँध निर्माण हुने पक्का भएको छ ।

छलफल कार्यक्रममा विभिन्न राजनितीक दलका प्रतिनिधिहरु, मजदुर लगायतले आ आफ्ना मागहरु राखेका थिए । खोलामा पानी उकासका लागि चेक ड्याम निर्माण तथा पैनिको मुहान ब्यवस्थित गरिनुपर्ने मागहरुनै बढि उठेका थिए । जस्ले गर्दा सो कामहरु पुरा गर्न खोला ठेक्काबाट उठेको आफ्नो भागको रकम वुद्धशान्ति गाउँपालिकाले पनि चेक ड्याम तथा मुहान ब्यवस्थित गर्ने कार्यमा खर्च गर्ने, अर्जुनधारा नगरपालिकाको भागमा पर्ने रकम र प्रदेश सरकारको भागमा पर्ने रकम पनि सोहि काममा खर्च गर्न माग गर्ने लगायतका मौखिक सहमती भएको छ ।