धरान (डेस्क) : विराटनगरमा जारी पाचौँ संस्करणको साफ वुमन्स च्याम्पियनसिप फुटबलको फाईनल प्रवेशका लागि आयोजक नेपाल श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ ।

विराटनगरको शहिद रगंशालामा आइतबार भएको लिग चरणको अन्तिम खेलमा भारतले श्रीलंकालाई ५–० को फराकिलो अन्तरले पराजित गरेसँगै नेपालको भेट श्रीलंकासँग पक्का भएको हो । जितसँगै भारत समुह बीको विजेता र श्रीलंका उपविजेता बनेका हुन् । आइतबारको खेलसँगै च्याम्पियनसीपको सेमिफाइनल समिकरण समेत पूरा भएको छ । भारतले समूह एको उपविजेता बगंलादेशसँग प्रतिस्पर्धा गर्नेछ । सेमिफाइनल खेल आगामी बुधबार हुनेछ । पहिलो खेलमा आयोजक नेपाल र श्रीलंका बिहान ११ बजे तथा दोस्रो सेमिफाइनलमा भारत र बगंलादेश दिउँसो ३ बजे प्रतिस्पर्धा गर्नेछन् । दुवै खेलमा पराजित माल्दिभ्स र भुटान लिग चरणबाटै बाहिरिसकेका छन् । माल्दिभ्स भारतसँग ६–० र श्रीलंकासँग २–० ले पराजित भएको थियो । भुटान आयोजक नेपालसँग ३–० र बगंलादेशसँग २–० ले पराजित भएको थियो ।