धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको भ्रष्टचार एवं अनियमितता प्रकरण फेरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नै यसपटक प्रतिष्ठानको अनियमितता एवं भ्रष्टचारबारे अनुसन्धान गर्न अख्तियारलाई आग्रह गर्दै आवश्यक फाइलहरु बुझाएको हो । आइतबार प्रतिष्ठान आएका स्वास्थ्यमन्त्री उपेन्द्र यादवले यहाँको भौतिक संरचना निर्माणदेखि नियुक्ती प्रक्रियालगायतका बिषयहरुमा छानबिन गरी आवश्यक कारबाही गर्न अख्तियारमा लेखीपठाएको जानकारी दिएका थिए । उनका अनुसार मातृशिशु स्याहार केन्द्र, अंकोलोजी, कार्डियोलोजीलगायत भौतिक संचरनाहरुको निर्माणमा भएको अनियमितताबारे छानबिन र कारबाही गर्न मन्त्रालयले अख्तियारमा पत्राचार गरेको छ ।

मन्त्री यादवले यसअघिका छानबिन समितिको प्रतिवेदनहरुसहित आर्थिक बिषयमा छानबिन र कारबाही गर्न अख्तियारलाई पठाइएको जानकारी दिए । आर्थिक बिषयमा छानबिन र कारबाही गर्ने निकाय अख्तियार भएकोले प्रतिवेदनहरु सोही निकायमा पठाएको उनको भनाई थियो । ‘आर्थिक कुरा हेर्ने जिम्मेवारी अख्तियारको हो, एमसिएचलगायतमा भएको आर्थिक अनियमितताको छानबिन र कारबाहीको लागि अख्तियारमा पठाइसकेका छौ,’मन्त्री यादवले भने ।

Mch-building6

प्रतिष्ठानमा ४ सय बेडको मातृशिशु स्याहार केन्द्र(एमसिएच)को निर्माणाधिन भवनमा ठुलो भ्रष्टचार भएको बताइएको छ । पुर्वउकुलपति डा.वीपी दासले आफ्नो कार्यकाल सकिन लाग्दा सिनेटले स्वीकृत गरेको लागतस्टिमेट भन्दा कयौ गुण बढीमा ठेक्का दिएर कमिशन लिएको आरोप छ । सिनेटले ७६ करोडको लागत स्वीकृत दिएपनि दासले भ्याटबाहेक सवा २ अर्बमा ठेक्का लगाएका थिए । यस्तै, स्रोतको सुनिश्चितता नभै दासले फार्मेसी भवनको पनि ठुलो रकममा टेण्डर गरेका थिए । त्यसअघि पनि दासमाथि विद्यार्थी भर्नामा आर्थिक चलखेल गरेको बिषयमा अख्तियारले अनुसन्धान गरिरहेको थियो । तर, अख्तियारले पनि आर्थिक चलखेलमा ती फाइलहरु तामेलीमा राखेको आरोप लाग्दै आएको छ ।

यस्तै, बर्खास्तमा परेका उपकुलपति डा.राजकुमार रौनियारलाई एमआरआई मेशिन खरीदमा अनियमितता भएको आरोप लागेको थियो भने अंकोलोजी र कार्डियोलोजी सेन्टरको परामर्शदाता छनौट र भवनको ठेक्का अन्तिम समयमा रद्द गरिएको बिषयमा आर्थिक चलखेलको आरोप लागेको थियो ।