धरान ः करिब एक साताअघि आफ्नै पुजा कोठामा हातमा चुलेसी लिएको र घाँटी पछाडि काटिएको अवस्थामा शव भेटिएको घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले तिनका आफन्तजनहरुको पोलिग्राफ टेष्ट गरेको छ ।

घटनाबारे शंकाको दायरामा रहेका व्यक्ति तथा आफन्तजनहरुको पोलिग्राफ टेष्ट भइरहेको प्रहरी स्रोतले जनाएको छ । उनीहरुलाई इलाका प्रहरी कार्यालयमा यो टेष्ट गरिरहेको हो । 'घटनाबारे शंकास्पद व्यक्ति, आफन्तजनहरुको पोलिग्राफ टेष्ट भइरहेको छ, उनीहरुले कति सत्य बोलिरहेको छ वा छैन भनेर गरिने जाँच हो,'स्रोतले भन्यो । यो घटनामा १ नं प्रदेश कार्यालयको अनुसन्धान ब्युरो रिडसहितको टोलीले घटना भएकै दिनदेखि गहिरो अनुसनधान गरिरहेको छ । तर, अहिलेसम्म हत्या भएको कुनै प्रमाण वा संकेत प्रहरीले भेटेको छैन ।

गत मंगलबार धरान ९ आचार्यलाइनस्थित डेरा गरि बस्ने सप्तरीको राजविराज नगरपालिका १३ का ३० बर्षीय रितेशप्रसाद देव आफ्नै कोटामा मृत अवस्थामा भेटिएका थिए । चुलेसी हातमा लिएको र घाँटी पछाडि दाहिनेपट्टी गहिरो चोट लागेको थियो । घटनाको अनुसन्धान गर्न रिड टिमसँगै सुनसरी जिल्लाको प्रहरी प्रमुख एसपी राजन अधिकारी आफै धरान आएका थिए । त्यही दिन उनीहरुले घटनास्थलको जाँच, मृतकका दुई जना दाजु, दिदी भेना, भाञ्जा भाञ्जीलगायत सबैसँग छुट्टा छुट्टै वयानसमेत लिएको थियो । तर, कसैप्रति पनि शंका उब्जने वा हत्या भएको क्लु भेटेको थिएन ।

घटनाको अनुसन्धानलाई निष्कर्षमा पुर्याउन अन्तिम उपायकोरुपमा पोलिग्राफ टेष्टको मद्दत लिइएको प्रहरी स्रोतको भनाई छ । यो केस सोसाइट(आत्महत्या) भएको निष्कर्षमा पुग्ने बढी सम्भावना छ, किनभने त्यति वलियो मान्छेलाई पछाडि घाँटी काटेर मार्न सहज छैन, प्रहरी स्रोतले भन्यो, उनले स्ट्रगल गरेको पनि कुनै संकेत देखिएन । इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुमन तिम्सिनाले घटनाबारे अझै पनि अनुसन्धान भइरहेको बताए । 'अनुसन्धान कर्तव्य ज्यान हो वा आत्महत्या के हो भनेर दुवैतर्फ विज्ञ टोलीसहित अनुसन्धान भइरहेको छ,'उनले यति मात्र भने ।

माइला दाजु पुस्करसँग बस्दै आएका रितेश र दाजु पुस्करको कोठा आमने सामने थियो । रितेशले आफ्नै कोठालाई पुजा कोठा बनाएका थिए । उनीहरुको कोठा नजिकै एउटै कम्पाउण्ड भित्र २ जना दिदी भेना पनि डेरा गरी बसेका थिए । रितेशलाई बिहान माइला दाजु पुस्करले नै कोठामा मृत अवस्थामा देखेका थिए । उनले नै भेना र आफ्नो दाईलाई खबर गरेपछि प्रहरीमा जानकारी भएको थियो । चिया पकाएर कागती काट्न चुलेसी खोज्दा नभेटेपछि भाईको कोठामा हेर्न जादा भाई मृत अवस्थामा देखेको उनले बताए ।

प्रहरी अनुसन्धानको क्रममा मृतक रितेश अतिनै धार्मिक भएको पत्ता लागेको थियो । उनी हरदम कोठाभित्र ध्यान, तपस्यामा लिन रहन्थे, किताबहरु पढिरहन्थे । उनी तन्त्रमन्त्रको पनि किताब पढिरहेका हुन्थे । कोठाको भित्ताभरि काली, नवदुर्गा, महादेवलगायतको तस्बिर राखेका थिए । दाजुहरुका अनुसार रितेश बिहान ३, ४ बजेदेखि नै १०, ११ बजेसम्म ध्यान, पुजापाठमा बस्थे भने दिउँसो पनि ३, ४ बजेदेखि राती १०, ११ बजेसम्म कोठाभित्र ध्यान, पुजा कर्म गरिबस्थे । रितेशले आफुले भगवानसँग साक्षात्कार गरिसकेको बताउने गरेको प्रहरीसँगको वयानमा उनका दाजुहरुले बताएका छन् । उनी विगत १० बर्षदेखि नै ध्यान, तपस्या गर्ने गरेको अनुसन्धानबाट खुलेको छ ।

रितेश एउटा खुट्टाले डेढ, दुई घण्टासम्म उभिएर तपस्या गर्ने, कोठाभित्र दियो निभ्न नदिई चौबिसै बालिरहने जस्ता उनको अनौठो स्वभावका थियो । मान्छेहरुसँग पनि कमै बोल्ने गरेका थिए । अनुसन्धानबाट हत्या भएको कुनै प्रमाण वा क्लु नभेटिएकोले रितेशले आत्महत्या गरेको हो कि भन्नेतर्फ प्रहरी अनुसन्धान सोझिएको छ । कतै रितेश आफैले आफैलाई वलि वा भोग दिएका हुन् कि ? प्रहरीले निष्कर्ष ननिकाले पनि घटना यसैतर्फ मोडिएको छ ।