धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति पदबाट डा.राजकुमार रौनियार हटाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चले आदेश दिएको छ ।

उपकुलपतिबाट हटाउने निर्णयविरुद्ध रौनियार सर्वोच्चमा पुगेका थिए । रिट निवेदनमाथि सुनुवाई गर्दै आज सर्वोच्चले रौनियारलाई पदबाट हटाउने निर्णय कार्यान्वयन नगरी यथास्थितिमा राख्न आदेश दिएको हो । न्यायाधिश प्रकाश राउतको एकल इजलाशले डा.रौनियारलाई अर्को निर्णय नभएसम्म यथास्थितिममा राख्न आदेश दिएको हो ।

रौनियारले आफ्नो पक्षमा आदेश आएको पुष्टि गरे । उनले सत्यको लडाईमा आफ्नो जित भएको पनि दाबी गरे । ‘निर्णय यथास्थितिमा राख्नु भन्ने आदेश आएको छ, सत्यको लडाईमा थिएँ, अदालतबाट न्यायको अनुभूति गरे,’रौनियारले भने,‘एउटा गिरोहले मलाई फन्दामा पारेको थियो ।’

फागुन १६ र १७ गते बसेको ४२ औं सिनेट बैठकले रौनियारलाई बर्खास्त गर्ने निर्णय गरेको थियो । सिनेटको निर्णयलाई फागुन २६ गते कुलपति तथा प्रधानमन्त्री केपी ओलीले स्वीकृत गरेपछि रौनियार पदबाट हटाइएको थियो ।