धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिको जिम्मेवारी प्रतिष्ठानकै रेक्टर डा.गुरु खनालले पाएका छन् ।

उनलाई सोमबार उपप्रधानसमेत रहेका स्वास्थ्यमन्त्री तथा सहकुलपति उपेन्द्र यादवले निमित्त उपकुलपतिको जिम्मेवारीको पत्र थमाएका थिए । तर, खनालले निमित्त उपकुलपतिको पत्र बुझेर धरान(प्रतिष्ठान) आइनपुग्दै अर्को खबर भाइरल बन्यो । उपकुलपति पदबाट हटाइएका डा.राजकुमार रौनियारको रिट निेवेदनमाथि सुनुवाई गर्दे सर्वोच्च अदालतले निर्णय यथास्थितिमा राख्न र कारण देखाउ आदेश जारी भएको खबर अनलाइनहरुमा फैलियो । यसले अब प्रतिष्ठानको उपकुलपति को हुन् भन्ने अन्योल थपिएको छ ।

रेक्टर खनाललाई आर्थिक र प्रशासनिक अधिकारसहितको निमित्त उपकुलपतिको अधिकार दिइएको थियो । खनाल सोमबारै पत्र लिएर धरान आउदै थिए । तर, पदबाट हटाइएको रौनियारको रिटमाथि अदालतको आदेश आएको खबरले उनी पनि अन्योलमा छन् । ‘आर्थिक, प्रशासनिक अधिकारसहितको निमित्त उपकुलपतिको पत्र पाएको छुँ, यो भनेको पुर्ण भिसि सरह कै अधिकार हो,’खनालले भने,‘अदालतबाट आदेश आएको पनि सुने । आदेश कस्तो आएको हो, त्यो हेरेर मात्र के गर्ने भन्ने थाह हुन्छ ।’

अदालत आदेशको आ आफ्नै व्याख्या

VC-offce1

सिनेटले उपकुलपति पदबाट डा.राजकुमार रौनियारलाई हटाउने निर्णय गर्दै गरेको सिफारिशलाई कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २६ गते सदर गरिदिए । त्यसपछि,औपचारिकरुपमा पदबाट हटाइएका रौनियारले जानकारी भने ३० गते मात्र पाए । पत्र पाएपछि रौनियरले त्यसविरुद्ध सर्वोच्च अदालतमा चैत ३ गते रिट निवेदन दिए ।

सर्वेच्च अदालतका न्यायाधिश प्रकाशमान सिंह राउतको एकल इजलाशले सोमबार रिट निवेदनमाथि सुनुवाई गर्दै प्रतिष्ठानका कुलपति एवं प्रधानमन्त्री तथा मन्त्रपरिषद कार्यालयलाई कारण देखाउ आदेश जारी गरेको छ भने सो निर्णय यथास्थितिमा राख्न पनि भनेको छ । यस्तै, छलफलको लागि पनि बोलाएको छ । रौनियारले यो आदेशलाई आफ्नो जितकोरुपमा अथ्र्याएका छन् । ‘मलाई हटाउने निर्णयको पत्रलाई कार्यान्वयन नगर्नु, यथास्थितिमा राख्नु भन्ने आदेश छ, त्यो भनेको मलाई पदबाट हटाउने निर्णय कार्यान्वयन नगर्नु भनेको हो । उपकुलपति म नै हो भन्ने हो,’रौनियारले भने ।

तर, उनका विपक्षी भने निर्णय कार्यान्वयन भइसकेको र निमित्त उपकुलपतिको जिम्मेवारी पनि दिइसकेको अवस्थामा आज अदालतले दिएको आदेशले यो निर्णयलाई नछुने दाबी गर्छन् । अदालतले कुलपति तथा प्रधानमन्त्री कार्यालयसँग पदबाट हटाउनुको कारण माग गरेको र नयाँ उपकुलपति नियुक्ती प्रक्रियालाई चै यथास्थितिमा राख्नु मात्र भनेको रौनियारका विपक्षीहरुको जिकिर छ । ‘पदबाट हटाउने निर्णय त कार्यान्वयन भइसक्यो, र निमित्त भिसिको जिम्मेवारी पनि रेक्टर सरले पाइसक्नु भयो । त्यसैले निर्णय कार्यान्वयन नगर भन्ने प्रश्नै आउदैन, कार्यान्वयनमा भइसक्यो,’ती कर्मचारीले भने,‘त्यसैले यथास्थितिमा राख्नु भनेको चै अब नयाँ भिसि नियुक्तीको प्रक्रिया चै अघि नबढाउनु भनेको हो । अब रेक्टर सरले निमित्त भिसिको काम गर्नुहुन्छ, सरकारले अर्को भिसि नियुक्ती गर्ने प्रक्रिया चै बढाउदैन ।’