धरान : धरानमा हकी खेलको अन्तराष्ट्रियस्तरको रंगशाला र साइक्लिङको प्रदेश नं १ स्तरीय तालिम केन्द्र बनाउन स्थलगत अध्ययन गरिएको छ ।

सोमबार धरान नगर खेलकुद विकास समितिले ती दुवै खेलको संरचना निर्माणको लागि जग्गा उपलब्ध गराउन प्रस्तावित जग्गाको स्थलगत अवलोकन गराएको छ । हकीको लागि जग्गा अवलोकन गर्न हकी खेलका पुर्व राष्ट्रिय कोच एवं हालका राखेपको राष्ट्रिय टिम तयारी विभागका उपनिर्देशक बाबुराम नेपाल धरान आएका थिए भने साइक्लिङको ट्रेनिङ सेन्टरको लागि जग्गा हेर्न नेपाल साइक्लिङ एशोसिएशनका केन्द्रीय अध्यक्ष गोपाललाल कक्षपति धरान आएका थिए ।

दुवैलाई नगर खेलकुद विकास समितिका अध्यक्ष सुवास राई, बास्केटवलका प्रशिक्षक एवं नगर खेलकुद विकास समितिका सदस्य विकास चाम्लिङलगायतले जग्गा अवलोकन गराएका थिए । नगर खेलकुद विकास समितिका अध्यक्ष राईका अनुसार हकी संघ र राखेपले नै धरानमा सुविधा सम्पन्न हकीको लागि जग्गा खोज्न भनेको थियो । जग्गा खोजेपछि संघ र राखेपले नै जग्गाको अवलोकनको लागि प्रतिनिधि पठाएको अध्यक्ष राईले बताए । ‘साइक्लिङ र हकी दुवैलाई हामी जग्गा दिन तयार छौ, उहाँहरु आएर स्थलगत अवलोकन पनि गर्नुभयो, हामी आशावादी छौ,’उनले भने ।

हकीको लागि पानवारी उपयुक्त

sports2452

हकीको लागि समितिले धरान १७, उदय टोल(नमस्ते चोक)स्थित खेल मैदान देखाएको थियो भने अर्को धरानको वडा नं ६ स्थित बाजीपा खेलमैदान अवलोकन गराएको थियो । दुवै मैदान अवलोकन गरेका उपनिर्देशक नेपालले बाजीपा खेलमैदान हकीको लागि उपयुक्त भएको बताए । उनका अनुसार नेपाल हकी संघले विश्व हकी संघमार्फत ५ करोडको एस्ट्रोटफ(हकी खेल्ने कृत्रिम घाँसे मैदान) बनाउने योजना छ ।

sports

विश्व संघले लगानी गर्ने पक्का भइसके पनि नेपालमा जग्गा नपाएर समस्या भइरहेको उनले बताए । ‘संघलाई जग्गाको समस्या थियो, यहाँ उपयुक्त रहेछ । अर्को प्रमुख कुरा हामीलाई पर्याप्त पानी चाहिन्छ,’उनले भने । एस्ट्रोटफ खेलाडीलाई आवास र दर्शकलाई प्याराफिटसहितको बन्ने उनले बताए । यहाँ अन्र्तराष्ट्रियस्तरको प्रतियोगितासँगै हकीको टिमलाई क्लोज क्याम्प राखेर प्रशिक्षण गराउन उपयोग गरिनेछ । हकीमा पुरुषतर्फ नेपाल १४० देशमा ८८ औं स्थानमा छ । वडाअध्यक्ष भुवनसिंह बस्नेतले पानवारीमा बोरिङ गरिएको पर्याप्त पानी भएकोले कुनै समस्या नहुने बताएका थिए ।

प्रदेशस्तरीय माउण्टेन बाइक ट्रेनिङ सेन्टर

sports3

साइक्लिङ संघका अध्यक्ष कक्षपतिका अनुसार संघले धरानमा प्रदेशस्तरीय माउण्टेन बाइक ट्रेनिङ सेन्टर बनाउनेछ । उक्त सेन्टरमा माण्टेन बाइक र बिएमएक्सको तालिम हुनेछ भने विस्तारै ट्रयाक रेसको पनि तालिम गराउने संरचना बनाइनेछ । ‘साइक्लिङ पनि विभिन्न विधाको हुन्छ, अहिलेसम्म धरानमा माउण्टेन बाइक मात्र भइरहेको छ र त्यो पनि फन,हेल्थको हिसाबले छ,’कक्षपतिले भने,‘अब स्पोट्र्सकोरुपमा अघि बढाउनुपर्छ, खेलाडीहरु जन्माउनुपर्छ, त्यसैको लागि ट्रेनिङ सेन्टर प्रदेश १ को लागि धरानमा बनाउने भनेका छौ ।’

अध्यक्ष कक्षपतिका अनुसार जग्गाको व्यवस्थापन भएपछि मन्त्रालय र राखेपबाट भौतिक संरचना बनाउने साथै आवश्यक सामग्रीहरु साइक्लिङको एसियन संघ(एसिसि) र सर्वोच्च निकाय युनाइटेड साइक्लिङ इन्टरनेशनल(युसिआइ)बाट सहयोग आउनेछ । साइक्लिङको तालिम केन्द्रको लागि धरान १७ स्थित एन्फा टेक्निकल सेन्टर उत्तरपटिको खाली जग्गा प्रस्ताव गरिएको छ । अध्यक्ष कक्षपतिलाई सोमबार सोही स्थानमा अवलोकन गराइएको थियो ।