कञ्चनपुर: कञ्चनपुरकी १३ बर्षीय बालिका निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा बर्खास्तमा परेका एसपी डिल्लीराज विष्ट आज अदालतमा हाजिर भएका छन् ।

एसपी विष्टसहित ७ प्रहरीमाथि अनुसन्धानमा लापरवाही र प्रमाण नष्ट गरेको आरोप लागेको थियो । उनीहरुविरुद्ध अदालतमा मुद्दा समेत दायर भएपछि एसपी विष्ट र डिएसपी अंगुर जिसि फरार भएका थिए । फरार सुचीमा रहेका एसपी विष्ट भने मंगलबार बिहान जिल्ला अदालत कञ्चनपुरमा हाजिर भएका हुन् । अदालतका स्रेस्तेदार हरिकृष्ण अवस्थीले विष्ट अदालतमा हाजिर भएको जानकारी दिए । अदालतले विष्ट र डिएसपी जीसीलाई अदालतमा हाजिर हुन सूचना जारी गरेको थियो ।

nirmala panta

निर्मला हत्या प्रकरणमा अनुसन्धानमा लापरवाही भएको बिषयमा एसपी विष्टमाथि शुरुदेखि नै आरोप लागेको थियो । उनको अहिले अदालतमा वयान जारी रहेको बताइएको छ । वयान पछि थुनछेक बहस हुनेछ । डिएसपी जिसि भने अझै फरार नै छन् । यो घटनाका अन्य छ जना आरोपि भने धरौटीमा छुटेका थिए । यसअघि, तत्कालीन डिएसपी ज्ञानबहादुर सेठी, प्रहरी निरीक्षकद्वय एकेन्द्र खड्का र जगदीशप्रसाद भट्ट, सईद्वय हरिसिंह धामी र रामसिंह धामी, जवान चाँदनी साउदलाई अदालतले धरौटीमा छाड्ने आदेश दिएपछि उनीहरु सोही अनुसार छुटेका थिए ।