काठमाडौं: राजधानी काठमाण्डौसहित तीन जिल्लामा बर्डफ्लुको संक्रमण देखिएको छ । काठमाण्डौसँगै मकवानपुर र कास्कीको पोखरामा पनि बर्डफ्लुको संक्रमण भएको पुष्टि भएको छ ।

ती जिल्लामा धमाधम कुखुरा मर्न थालेपछि परीक्षण गरिएको थियो । परीक्षणबाट बर्डफ्लु भाइरस (एच५एन१) सक्रमण भएको पशु सेवा विभागले पुष्टि गरेको छ । मकवानपुरको हेटौंडा र काठमाडौंमा लेयर्स कुखुरामा एच५एन१ भाइरस देखिएको छ भने पोखरामा लोकल कुखुरामा देखिएको विभागले जनाएको छ । विभागका अनुसार संक्रमण पुष्टि भएपछि त्यसलाई फैलन नदिन सुरक्षात्मक उपाय अपनाइएको छ । वर्डफ्लुले किसानको करोडांैको लगानी नोक्सान भएको छ । बर्ड फ्लु पुष्टि भएपछि किसानका कुखुरा नष्ट गर्न थालिएको छ । विभागका अनुसार बर्ड फ्लु भेटिएको ठाउँमा कुखुरालाई गाड्ने काम भइरहेको छ ।

विभागका अनुसार मकवानपुर, काठमाडौंमा मात्र करिब सवा लाख कुखुरा नष्ट गरिएका छन् । किसानलाई राहतस्वरुप भने सरकारले ज्यादै न्युन रकम दिने गरेको छ । बर्डफ्लु संक्रमण भएको खबरसँगै कुखुराको मासु बिक्रीमा पनि घटेको छ । कुखुरामा भएको किसान र व्यवसायीको लगानी जोखिममा परेको छ ।

नेपालमा वार्षिक रुपमा कुखुराको मासु २० अर्ब ५२ करोड ८८ लाख रुपैयाँको कारोबार हुन्छ भने अण्डाबाट नौ अर्ब १३ करोड ३७ लाख ३६ हजार कारोबार हुने गरेको छ । यस्तै, चल्ला बिक्रीबाट तीन अर्ब ६० करोड ७६ लाख र कुखुराको मलबाट ४५ करोड ३७ लाख रुपैयाँको कारोबार हुने गरेको तथ्यांक छ । किसान तथा व्यावसायीहरुले विदेशबाट आयात हुने अवैध चल्लामा प्रतिबन्ध लगाउन, बर्डफ्लू एवं महामारीमा नष्ट भएका कुखुरा, अण्डाको उचित क्षतिपूर्ति दिनुपर्ने आवाज उठाउदै आएका छन् । तर, सुनुवाई हुन सकेको छैन ।