धरान: केवल टेलिभिजनहरुलाई अनिवार्यरुपमा डिजिटल प्रणालीमा लैजाने निर्णयलाई कार्यान्वयन सरकार कडारुपमा प्रस्तुत भएको छ ।

पटक पटक केवल टेलिभिजनलाई डिजिटलमा लैजान सुचना जारी गरेको सुचना तथा प्रविधि मन्त्रालयले दोस्रो चरणमा निर्णय कार्यान्वयन भए नभएको अनुगमन देशभर गरिरहेको छ । त्यसै क्रममा मन्त्रालयको टोलीले आज मंगलबार सुनसरीको धरान र इटहरीमा रहेका केवलहरुको अनुगमन गरेको थियो । सो क्रममा मन्त्रालयलको टोलीले धरानस्थित धरान केवलले एनालग टेलिभिजन सञ्चालन गरिरहेको पाएपछि बन्द गराउनुका साथै सामानहरु पनि जफत गरेर लगेको छ ।

पटक पटकको सरकारले सुचना एवं जानकारी तथा निर्देशन दिए पनि अवज्ञा गरेको भेटिएपछि धरान केवलको एनालग टेलिभिजन बन्द गराएको मन्त्रालयका उपसचिव तुलसी प्रसाद घिमिरले जानकारी दिए । उनका अनुसार धरान केवलबाट जफत गरिएको एनालगको सामानहरु धरानस्थित जिल्ला हुलाक कार्यालयमा राखिएको छ । इटहरीको पशुपति र सुनसरी केवलमा पनि अनुगमन गरिएको तर त्यहाँ भने एनालग प्रणाली चालुअवस्थामा नरहेको पाइएको उनले बताए । 'गएको साउनदेखि नै हामीले देशभर अनुगमन गरिरहेका छौ, पहिला तराईको जिल्लामा गर्यौ । अहिले दोस्रो चरण हो । एक महिनाअघि पनि सुचनाहरु जारी गरेका थियौ,'उपसचिव घिमिरेले भने ।

dharan-cable0

सरकारले उपमहानगर र नगरपालिका क्षेत्रमा २०७४ कात्तिक १५ गतेसम्म एनालग टेलिभिजन बन्द गर्न भनेको थियो । कृती दर्शन मिडिया प्रालिको धरान केवलले आफुलाई डिजिटलमा रुपान्तरण गर्दै गए पनि एनालग प्रणाली पनि बन्द गरेको भने थिएन । प्रालिले रूपान्तरणको प्रक्रियामा रहेको भन्दै समय सिमा बढाउन माग गर्दै अदालतमा रिट हालेको थियो । उक्त मुद्दा अझै पनि विचाराधिन अवस्थामा नै रहेको छ ।