इटहरी: पछिल्लो समय बिकास निर्माणका लागि युवाहरु आफै जागरुग हुन थालेका छन् । इटहरी २० का उपभोक्ता आफैले पैसा उठाएर बाटो बनाएका छन् ।

तरहरामा उपभोक्ता आफैले सचेत भएर बाटो निर्माण गरेका छन् । इटहरी २० र १ को सिमानामा पर्ने नवज्योती टोलमा ड्रेन बनाएर ग्राभेल गरिएको छ । कुल ११ सय ६५ फुट लम्बाई र नालासहित २२ फुटको बाटो उपभोक्ताकै सक्रियतामा निर्माण गरिएको सडक निर्माण संयोजक सुशील तिवारीले बताए । उनका अनुसार गत माघ महिनाबाट सडक निर्माण बनाउन सुरु भएको थियो । उनले भने,'यो ठाउँमा बर्खायाममा बाढी पसेर दुःख दिन्थ्यो । तर पनि नगरको बजेट परेन, त्यसैले हामी आफैले चासो देखाएर बाटो निर्माण गरेका हौ ।'

स्थानीय गोपाल विश्वकर्माका अनुसार यहाँको सिमानामा सानो बाटो रहेको र साईकल, मोटरसाईकल आवत जावत गर्दा पनि समस्या हुने गर्छ । स्थानीय महिला सुपमित गुरुङले पनि २० नम्बर वडा कार्यालयले चासो देखाएको र जनताको सक्रियतामा बाटो निर्माण भएको भन्दै खुशी व्यक्त गरिन् । कुल ३ लाख ८० हजार रुपैया लागतमा निर्माण गरिएको हो । अहिले यहाँका बासिन्दा उत्साहित छन् ।

अध्यक्षले दिए ५० हजार

20190319_085858

सोही सडक निर्माणको लागि इटहरी वडा नं २० का अध्यक्ष मणिराम श्रेष्ठले मंगलबार आफुनो तलव सुविधा बापतको ५० हजार रुपैँया सहयोग गरेका छन् । 'जनताले गर्दा तरहरा राम्रो भएको छ,'उनले भने,'यो सडक निर्माण पनि जनताकै सहयोगमा निर्माण भएको हो, मैले आफ्नो तलब सुविधा कटाएर पचास हजार सहयोग गरेको छु ।' 

उनले आफ्नो कार्यकालमा वडाका सबै बाटोलाई पक्की गर्ने प्रतिबद्धता जनाए । सबै सडकहरुमा कम्तीमा एम्बुलेन्स, दमकल, प्रहरीको गाडी र मोटरसाईकल आवत जावत गर्ने गरी निर्माण गर्ने अध्यक्ष श्रेष्ठको भनाई थियो ।