धरान: गुठीको नाममा रहेको मन्दिरको जग्गा किर्ते गरेर व्यक्तिको नाममा दर्ता गराएर बिक्री गर्ने गिरोहलाई सिफारिश गरेको अभियोग लागेका धरानको वडा नं १६ का अध्यक्ष र मालपोतका अधिकृतसहित २ कर्मचारी धरौटीमा तारेखमा छुटेका छन् ।

आज मुद्दाको थुनछेक बहसपछि १ नं न्यायाधिश पुरुषोत्तमप्रसाद ढकालको इजलाशले थुनछेक आदेशबाट वडाअध्यक्ष दिलकुमार गिरीलाई २ लाख धरौटीमा पुर्पुक्षमा तारेखमा रहने आदेश दिएका हुन् । यो आदेशसँगै अध्यक्ष गिरी २ लाख धरौटी बुझाएर तारेखमा छुटेका छन् भने मालपोत कार्यालय इनरुवाका नायब सुब्बा भारतराज दाहाल पनि १ लाख धरौटीमा तारेखमा छुटेका छन् । यसअघि, २ दिन अघि आइतबार नै मालपोतका शाखा अधिकृत मातृका दंगाललाई पनि अदालतले १ लाख धरौटी लिएर तारेखमा छोड्न आदेश दिएको सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता गोकुल निरौलाले जानकारी दिए । 'मालपोतका अधिकृत आइतबार नै १ लाख धरौटीमा छुटेका थिए, आज थुनछेक आदेशबाट वडाअध्यक्ष र नायब सुब्का पनि पुर्पक्षमा तारेखमा रहने गरी आदेशमा छुटेका छन्,'निरौलाले भने,'मुद्दा टुंगिएको भने होइन ।'

वडाअध्यक्ष गिरीकोतर्पmबाट बहस गरेका वकिल पदम इस्पोले पनि अध्यक्ष २ लाख धरौटीमा तारेखमा छुटेको बताए । यही मुद्दामा यसअघि ३ जना पुर्पक्षका लागि जेल चलान भएका थिए भने एक जना धरौटीमा रिहा भएका थिए । अदालतले धरान १६ का सोमबहादुर परियार, मानबहादुर परियार र अर्जुन चौधरी पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिएको थियो भने धरान १६ का किसोर मगर ५ लाख धरौटीमा रिहा भएका थिए ।

wada-16-kirte

गुठीमा रहेको चन्द्रशेखर महादेव मन्दिरको जग्गा नक्कली व्यक्ति खडा गरेर व्यक्तिको नाममा नामसारी गराउन प्रपञ्च गरेको खुलेपछि पकली प्रहरीले गिरोहलाई पक्राउ गरेको थियो । सुनसरीको रामधुनी नगरपालिको ६ मा मन्दिरको नाममा भएको २२ कट्ठा १० धुर जग्गा हडप्न नक्कली जग्गाधनी खडा गरेर चलखेल भएको थियो । उनीहरुविरुद्ध पकली प्रहरीले अनुसन्धान गरी रायसहित मिसिल जिल्ला न्यायाधिवक्तलाई बुझाएको थियो । न्यायाधिवक्त निरौलाले किर्ते, ठगी र मतियारकोरुपमा संलग्न भएको अभियोगमा वडाअध्यक्ष गिरी, मालपोतका कर्मचारीसहित ९ जना विरुद्ध अदालतमा अभियोग दर्ता गराएका थिए । यो प्रकरणमा मुख्य गिरोहमा सोम परियार, मानबहादुर परियार, अर्जुन चौधरी रहेको प्रहरीको दाबी छ भने मालपोत कर्मचारी, वडाअध्यक्षले किर्ते, ठगीमा मतियारकोरुपमा सहयोग गरेको दाबी छ ।

यो गिरोहले चन्द्रशेखर महादेव गुठीको नामको जग्गा व्यक्तिको नाममा नामसारी गराउन चन्द्रशेखर महादेव(परियार) नामको नक्कली व्यक्ति र नक्कली नागरिकता निकालेको थियो । मानबहादुर परियारलाई चन्द्रशेखर महादेव(परियार) बनाएर नक्कली नागरिकता निकालेका थिए । नक्कली नागरिकता निकालेपछि वडा नं १६ मा जग्गाधनी पुर्जामा फोटो टाँस गर्न बाँकी रहेकोले सिफारिश गर्न निवेदन दिएको थियो । साथै, नागरिकतामा चन्द्रशेखर महादेव(परियार) भएको तर धनिपुर्जामा चन्द्रशेखर महादेव मात्र उल्लेख भएकोले दुवै नामथर भएको व्यक्ति एकै भएको सिफारिशको पनि माग गरेको थियो । यो गिरोहको माग वमोजिम वडाअध्यक्ष गिरीले मंसिर २७ गते सिफारिश गरिदिएका थिए । यो गिरोहले इटहरी तरहरा घर भएको नन्दबहादुर विश्वकर्मालाई उक्त जग्गा बिक्री गर्न १२ लाख रुपैयामा बैनासमेत गरिसकेको थियो । तर, नामसारी गराउने बेला मालपोतमा किर्ते गरेको उनले चाल पाएपछि प्रहरीले ४ जनालाई पक्राउ गरेको थियो ।