ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “कहिले पूरा होलान् नेताका आश्वासन ?” शीर्षकको समाचार छापिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको आफ्नो गृह जिल्ला झापा आउँदा स्थानीयहरु खोलाले दुःख दिएको गुनासो गर्छन् । ओली पनि प्रत्येक पटक आश्वसन दिन्छन् । गत चुनावका बेला उनले भाषण गर्दै भनेका थिए, ‘झापाका नदीहरुका पाता कस्छु ।’ ओलीले धेरै वटा चुनाबका बेला यस्ता आश्वसन दिए । अहिले पनि झापा आउँदा पुरानै भाषण दोहोर्याउछन् । तर उनले दिएका आश्वसन र भाषणमा बोलेका कुरा अहिलेसम्म पूरा भएका छैनन् । दमक १० स्थित सेतुकुमारीकी मुना कोइरालाले केही वर्षअघि मावा खोलामा आएको बाढीका कारण थातथलो नै छोड्नु पर्यो । मावामा आएको बाढीले उनको घरसहित सम्पूर्ण सामान बगाइदियो । गोठमा बाँधेका गाईवस्तुलाई समेत भेलले बगाएपछि हम्मे हम्मेले ज्यान जोगाएकी कोइराला अझैँ पनि आकाश गड्याङ गुडुङ गर्दा आत्तिन्छीन् ।

त्यसैगरी आजको ब्लाष्ट टाइम्स दैनिकमा “मेचीनगरमा सीमा सुरक्षा बैठक” शीर्षकको अर्को समाचार पनि छापिएको छ । भारतमा आसन्न आम निर्वाचनलाई लक्षित गरेर नेपाल र भारतका सुरक्षा अधिकारीबीच दुई देशीय सुरक्षाका विषयमा छलफल भएको छ । भारत दार्जिलिङमा हुने आसन्न चुनावलाई लक्षित गर्दै भारतले सुरक्षा व्यवस्था कडा बनाउन लागेको छ । यसक्रममा भारतको सुरक्षा प्रमुखहरुले सीमा क्षेत्रको सुरक्षालाई मध्यनजर गर्दै नेपालका सुरक्षा निकायका उच्च पदस्थ कर्मचारीबीच छलफल भएको हो । सीमा क्षेत्रमा हुन सक्ने अपराधिक गतिविधिले भारतको आम निर्वाचनलाई प्रभावित पार्न सक्ने खतराप्रति सचेत हुँदै सुरक्षामा गम्भर बन्न आग्रह गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख दिनेश मैनालीले बताए ।

नागरिक पूर्वेली : आजको नागरिक पूर्वेली दैनिकमा “मनोमानीविरुद्ध उत्रने प्रतिपक्षको तयारी” शीर्षकको समाचार छापिएको छ । प्रदेश १ सरकारको मनोमानीविरुद्ध प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सदनमा सशक्त रुपमा उत्रने जनाएको छ । नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलले पत्रकार सम्मेलन गरी बहुमतको आडमा सरकारले मनोमानी गरीरहेका कारण सदनमा सशक्त रुपमा उत्रिने तयारी गरेको जानकारी दिएको हो । प्रमुख प्रतिपक्ष दलका नेता राजीव कोइरालाले सरकारले प्रतिपक्षसंग सहमति गरे जस्तो गर्ने तर व्यवहारमा भने एकलौटी निर्णय गर्दै आएको बताए । प्रतिपक्षीले सदनमा उठाएका विषयलाई सरकारले वेवास्ता गरिरहेको उनले बताए । प्रदेशको नाम र राजधानीको विषयलाई सरकारले नै अल्मल्याइरहेको उनले बताए । प्रमुख सचेतक केदार कार्कीले प्रदेश सरकारले धेरै कार्यक्रम घोषणा गरेपनि व्यवहारमा कुनै पनि कार्यान्वयन नगरेको बताए ।

उद्घोष : आजको उद्घोष दैनिकमा “इनरुवामा वृहत अनुगमन” शीर्षकको समाचार छापिएको छ । जनप्रतिनिले कार्यभार सम्हालेयता इनरुवा नगरपालिकाको कार्यलयले पहिलो पटक वृहत तथा संयुक्त अनुगमन गरेको छ । स्थानीय पालिकाको हकमा इनरुवा नगरपालिकाले आयोजना गरेको वृहत तथा संयुक्त अनुगमनको कार्यलाई पहिलो पटक भएको दाबी गरिएको छ । नगरप्रमुख राजन मेहता नेतृत्वको टोलीले इनरुवाका वडास्तरीय योजनासहित बजार क्षेत्रमा संचालन भएका र जारी रहेका योजनाको स्थलगत अनुगमन गरेको छ । बिहान कार्यालयमा भेला भई अनुगमनको औचित्यका बारेमा जानकारी गराइएको थियो । नगर प्रमुखले योजनासहितको आधिकारीक धारणा राखेपछि स्थलगत अनुगमन थालिएको थियो । वडागत तथा बजार क्षेत्रमा संचालित योजनाहरु अनुगमन गराउने क्रममा नगरापालिकाको कार्यालय र शहरी विकास डिभिजन कार्यालयमार्फत सम्पन्न भएका तथा जारी रहेका योजनाबारे अनुगमनमा सहभागीहरुलाई जानकारी गराइएको थियो ।