धरान: सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेपछि उपकुलपति पदबाट हटाइएका डा.राजकुमार रौनियारले आज बुधबार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पुनः पदवहाली गरेका छन् ।

सर्वोच्चको आदेशले आफुलाई न्याय गरेको भन्दै उनले करिब साढे ११ बजे प्रतिष्ठानमा आएर पदवहाली गरेका हुन् । उनले अदालतको आदेशले आफु उपकुलपतिमा कायम भएको दाबी पनि गरे । उनलाई स्वागत गर्न उनी पक्षका कर्मचारीहरुको घुँइचो लागेको थियो । साथै, अप्रिय घटना हुन नदिन सुरक्षा व्यवस्था पनि कडा पारिएको थियो । प्रतिष्ठानमा रौनियारको पक्ष र विपक्षमा कर्मचारी, चिकित्सकहरु विभाजित छन् । यसले अप्रिय घटना होला कि भन्ने त्रास पनि फैलिएको थियो ।

bp-vc3

डा.रौनियारले पदवहाली गरेसँगै प्रतिष्ठानमा २ जना उपकुलपति भएका छन् । प्रतिष्ठानको आर्थिक, प्रशासनिक कामकाज गर्ने अधिकारसहित सरकारले रेक्टर डा.गुरु खनाललाई निमित्त उपकुलपति तोकेको थियो । उनलाई चैत ४ गते निमित्त उपकुलपति बनाइएको थियो भने उनले हिजो मंगलबारदेखि निमित्त उपकुलपतिकको कार्यभार सम्हालेका थिए । निमित्त उपकुलपति डा.खनालले सरकारले आफुलाई जिम्मेवारी दिएको र रौनियार उपकुलपति भएको बिषयमा औपचारिकरुपमा जानकारी नपाएको बताए । उनले अदालतको पत्र पनि साढे ११ बजे मात्र पाएको भन्दै त्यसबारेमा कानुनी परामर्श गर्ने जानकारी दिए ।

के छ अल्पकालिन अन्तरिम आदेशमा ?

रौनियारलाई सिनेटको निर्णयअनुसार कुलपति तथा प्रधानमन्त्रीले फागुन २६ गते पदबाट हटाएको थियो । त्यसविरुद्ध उपकुलपतिले चैत ३ गते अन्तरिम आदेशको माग गर्दै सर्वोच्चमा रिट निवेदन दिएका थिए । त्यसमा सुनुवाई गर्दै न्यायाधिश प्रकाशमानसिंह राउतले चैत ४ गते नै अल्पकालिन अन्तरिम आदेश जारी गरेका थिए । उनको आदेशमा १५ दिनभित्र निवेदकको माग वमोजिम आदेश जारी हुनु नपर्ने आधार र कारण खुलाउन भनिएको छ ।

IMG_20190320_113355_1

यस्तै, अन्तरिम आदेश माग सम्बन्धमा दुवै पक्ष राखेर छलफल गर्नुपर्ने उपयुक्त देखिएकोले फागुन १२ गते पेशी पनि तोकिएको छ । साथै, कुलपतिले सफाईको मौका नदिई पदबाट हटाएकोले फागुन २६ गतेको निर्णय र सो निर्णको आधारमा सहकुलपतिले लेखेको पत्र अन्तरिम आदेशको छलफलबाट टुंगो नलागेसम्म कार्यान्वयन नगर्नु, नगराउनु भन्ने अल्पकालिन आदेश पनि जारी गरेको छ।

IMG_20190320_120935 IMG_20190320_120918