धरान: स्वास्थ्य सेवाको पहुचबाट बञ्चित रहेका ग्रामिण भेगको मानिसहरुलाई लक्षित गरी भोजपुरमा आउदो शनिबारदेखि तीन दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ ।

भोजपुर जन्मथलो भइ सुनसरीमा बसोबास रहेका भोजपुर सुनसरी सेवा सामाज, धरानको आयोजनामा निःशुल्क शिविर सञ्चालन हुन लागेको हो । भोजपुर नगरपालिका, भोजपुर जिल्ला अस्पताल विकास समितिको व्यावस्थापन र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राविधिक सहयोगमा जिल्ला अस्पताल भोजपुरमा ३ दिने स्वास्थ्य शिविर हुनेछ । शिविरमा स्त्री रोग सम्बन्धमा र जेनरल फिजिसियनहरुले विशेषज्ञ सेवा प्रदान गर्ने शिविर व्यावस्थापन समितिका संयोजक तथा सामाजका उपाध्यक्ष रेवतीरमण राईले बताए ।

शिविर भोजपुर नगरपालिका वडा नम्बर ५ सहित आसपासका दावा, दिल्पा छिनामखु, बोक्खीमलगायतका क्षेत्रहरुका ५ सय हाराहारीलाई सेवा पुग्ने अपेक्षा गरिएको उनले बताए । ‘हामीले जिल्ला अस्पतालमा शिविर सञ्चालन गरेपनि आसपासका क्षेत्रहरुका मानिसहरु लाभ पुग्ने अपेक्षा गरेका छौं,’उनले भने,‘शिविरमा ४ सय देखि माथी करिब ५ सय जनाको सहभागिता हुन्छ ।’ शिविरमा प्रतिष्ठानका स्त्री रोग विशेषज्ञ डा.श्यामबाबु साह, सर्जन डा समीर चौधरी, जेनेरल फिजिसियन डा रविन अधिकारीलगायतका चिकित्सकहरुले विशेषज्ञ सेवा प्रदान गर्ने समाजले जनाएको छ ।

शिविरमा विरामीहरुको लागि विभिन्न रोगका औषधिसमेत निःशुल्क वितरण गरिने संयोजक राईले बताए । चिकित्सकको सल्लाह अनुसार २ लाख ५० हजार रुपैयाँ बराबरको औषधि खरीद गर्नुका साथै धरानका विभिन्न औषधी पसलहरुले निःशुल्क औषधी प्रदान गरेको उनको भनाई थियो । ‘हामीले निःशुल्क रुपमा औषधी पनि वितरण गछौ,’उनले भने,‘त्यसको लागि चिकित्सकको सल्लाह बमोजिम औषधी खरिद गसिकेका छौं, औषधि पसलहरुले निःशुल्क सहयोग पनि गरेको छ ।’

शिविर सञ्चालनको लागि विभिन्न दाताहरुबाट १ लाख ९७ हजार ६ सय ७५ रुपैयाँ सहयोग संकलन गरिएको सामाजका सचिब प्रताप राईले बताए । भोजपुर अझै पनि ग्रामिण क्षेत्रको रुपमा रहेकाले स्वास्थ्य सेवाको पहुचबाट बञ्चित भएकाहरुको लागि यो शिविर सञ्चालन गर्न लागेको सामाजकी अध्यक्ष निर्मला राईले बताइन् । यो शिविरबाट धेरैले स्वास्थ्य सेवा पाउनुका साथै आफ्नो रोग पालेर बसेकाहरुको लागि ठुलो राहत मिल्ने विश्वास लिएको बताइन् ।