ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “श्रीमती र उनका प्रेमीलाई जन्मकैद” शीर्षकको समाचार छापिएको छ । प्रेमीसंग मिलेर आफ्नै श्रीमानको हत्या गर्ने श्रीमती र उनका प्रेमीलाई जिल्ला अदालत धनकुटाले २ लाख रुपैयाँ जरिवानासहित जन्मकैदको फैसला सुनाएको छ । धनकुटाको हिले बजारमा दशैँ, तिहारको अवसरमा आयोजित रमाइलो मेलास्थलमा गत कार्तिक १६ गते सुनसरीको इटहरी उपमहानगरपालिका १५ का ३८ वर्षीय रामबाबु चौधरीको हत्या भएको थियो । हत्याको अनुसन्धानका क्रममा प्रहरीले चौधरीकै श्रीमती २९ वर्षीय प्रिया चौधरी र उनका प्रेमी धनकुटाको सागुँरीगढी गाउँपालिका वडा नं. ९ घर भई हाल सुनसरी, बराहक्षेत्र नगरपालिका ५ कालाबन्जार घर भएका ३१ वर्षीय सविन राईलाई पक्राउ गरेको थियो । अनुसन्धानपछि प्रहरीले गत माघ १७ मा पत्रकार सम्मेलन गरी प्रेम सम्बन्धका कारण प्रियाको योजनामा सविनले रामबाबुको हत्या गरेको सार्वजनिक गरेको थियो । मुद्दा चलिरहेका उनीहरुलाई जिल्ला अदालत धनकुटाका न्यायधिस विनोदकुमार पोखरेलको एकल इजलासले मङ्गलबार २ लाख धरौटीसहित जन्मकैदको फैसला सुनाएको हो ।

त्यसैगरी आजको ब्लाष्ट टाइम्स दैनिकमा “मापदण्ड पूरा नगरी खोला उत्खनन्” शीर्षकको अर्को समाचार पनि छापिएको छ । सिरहाका कमला, घुर्मी, बतहा, बलानलगायतका नदी क्षेत्रमा क्रसर उधोगहरुले मापदण्ड पूरा नगरी खोला उत्खनन् गरिरहेको पाइएको छ । राजमार्गदेखि ५ सय मिटरभित्र पनि क्रसर उधोगहरु सञ्चालन गरेका छन् । क्रसर उधोगहरुबाट बालुवा गिट्टी खुलेआम तस्करी हुँदा पनि कारवाही गर्नुपर्ने निकायले चासो देखाएका छैनन् । त्यस्ता क्रसर उधोगहरुमा राजनितिक दलका स्थानीय नेता, समाजमा प्रतिष्ठीत व्यक्तिदेखि टोले गुण्डासम्मको लगानी रहेको हुँदा उनीहरुलाई कारबाही हुन नसकेको स्थानीयको आरोप छ । सिरहामा जम्मा २० वटा क्रसर उधोगहरुको नामावली घरेलु तथा साना उधोगमा दर्ता छन् । तीमध्ये धेरैले नवीकरणसमेत नगरी उत्खनन् गरिरहेका छन् । सो क्षेत्रमा सञ्चालित जगदम्बा ढुंगा क्रसर उधोग प्रमाणपत्र विहिन छ ।

पूर्वी बजार : आजको पूर्वी बजार दैनिकमा “सडक निर्माणको बजेट ७ दशमलव ७४ प्रतिशतमात्र खर्च” शीर्षकको समाचार छापिएको छ । चालु आर्थिक वर्षको ८ महिना वितिसक्दा इटहरी उपमहानगरपालिकाको विकासखर्चको अवस्था निराशाजनक देखिएको छ । उपमहानगरपालिकाको आर्थिक वर्ष ७५÷७६ को फागुन मसान्तसम्म पूँजीगत अर्थात विकास बजेटको कुल १६ दशमलव ४ प्रतिशतमात्र खर्च भएको छ । सञ्चारकर्मीलाई उपलव्ध गराएको फागुन महिनासम्मको खर्चको फाटँबारी अनुसार उपमहानगरपालिकाले सडक तथा पुल निर्माणको लागि छुट्याएको ३३ करोड ७२ लाख २० हजारबाट २ करोड ६१ लाखमात्र खर्च गरेको देखिन्छ । विकास निर्माणको शीर्षकमा सबैभन्दा बढी रकम विनियोजन भएको बाटो तथा पुलपुलेसाको रकम ८ महिना वितिसक्दा पनि ७ दशमलव ७४ प्रतिशतमात्र खर्च भएको देखिएको छ ।

त्यसैगरी आजको पूर्वी बजार दैनिकमा “पूर्वाञ्चल विश्वविद्यालय यसरी निजी कम्पनीजस्तो बन्दैँ” शीर्षकको समाचार छापिएको छ । आइटी कन्सलट्यान्टका रुपमा पूर्वाञ्चल विश्वविद्यालयमा छिरेका राजेशकुमार झा पूर्वाञ्चल विश्वविद्यालयमा शक्तिशाली बन्दैँ जादाँ विश्वविद्यालय भने तहसनहस बन्दैछ । पूर्वाञ्चल विश्वविद्यालय हित तथा सरोकार समाजका अध्यक्ष इन्जिनियर सञ्जिव रोका त झाले विश्वविद्यालयलाई आफ्नो कम्पनी जस्तै बनाएको बताउँछन् । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाकाको निर्देशनमा २०५८ सालमा आइटी कन्सलट्यान्टका रुपमा उनी विश्वविद्यालयमा नियुक्त भएका थिए । तर, विस्तारै उनी विश्वविद्यालयको सबै क्षेत्रमा हस्तक्षेप गर्न सफल हुँदै गए । उनी कर्मचारीभन्दा पनि सरकारले पठाएको प्रतिनिधि जस्तो देखिएको विश्वविद्यालयकै कर्मचारी बताउँछन् ।

नागरिक पूर्वेली : आजको नागरिक पूर्वेली दैनिकमा “नगरप्रमुखमाथि कारबाही फुकुवा” शीर्षकको समाचार छापिएको छ । तत्कालिन नेकपा एमालेबाट निर्वाचित ताप्लेजुङको फुङ्लिङ नगरपालिकाका नगरप्रमुख छत्रपति प्याकुरेललाई पार्टि सदस्यता समेत नरहने गरी गरीएको कारबाही नेपाल कम्युनिष्ट पार्टि नेकपाको १ नं. प्रदेश कमिटीले फुकुवा गरेको छ । मंगलबार सकिएको प्रदेश कमिटीको बैठकले नगरप्रमुख प्याकुरेललाई गरिएको कारबाही फुकुवा गर्दै नेकपाबाट निर्वाचित नगर प्रमुखकै हैसियतमा काम काज गर्ने वातावरण बनाउन माताहतका कमिटीलाई निर्देशन दिएको नेकपाका प्रदेश कमिटी अध्यक्ष देवराज घिमिरेले जानकारी दिए ।