काठमाण्डौँ : सरकारले नेपाल कम्युनिष्ट पार्टी नेत्रविक्रम चन्द –विप्लव) समूहका गतिविधिलाई रोक लगाएपछि प्रहरीले आक्रामक अपरेसन सुरु गरेको छ ।

विप्लव समूहले पहाडी जिल्ला केन्द्रीत गतिविधिलाई तीव्र बनाएसंगै प्रहरी प्रधान कार्यालयले पनि तिनै जिल्लामा अपरेसन केन्द्रित गर्न मातहतका निकायलाई निर्देशन दिएको छ । प्रहरीले आवश्यकताअनुसार नियन्त्रित अनुसन्धान प्रििवधि कन्ट्रोल डेलिभरी र गुप्त कारबाही अन्डर कभर अपरेसन पद्धति अपनाएर अपरेसन सुरु गरेको हो । मंगलबार राति महानगरीय प्रहरी अपराध महाशाखाका एसपी सोमेन्द्रसिंह राठौर नेतृत्वको टोलीले काभ्रेमा कारबाही गर्दा पनि सोही पद्धति अपनाएको थियो ।

ललितपुरको नख्खुमा भएको बम विस्फोट र बसुन्धारामा भएको बम विस्फोटमा संलग्नहरुको खोजी गर्दै जाँदा प्रहरीले सर्च अभियानभन्दा पनि अण्डर कभर अप्रेसनलाई प्राथमिकता दिएको हो । मंगलबार राति महाशाखाको टोलीले काभ्रेको रोशी गाउँपालिकास्थित काफ्लेडाँडाबाट शिव धिमाल र विशाल तामाङलाई नियन्त्रणमा लिएको थियो । उनीहरु ल्लितपुर तथा काठमाण्डौँ बसुन्धारमा भएको बम विस्फोटमा संलग्न भएको प्रहरीले जनाएको छ । उनीहरुकै सूचनाको आधारमा प्रहरीले डिकेन्द्र राई र नुमबहादुर विकलाई पनि पक्राउ गरेको छ ।

–नागरिक दैनिकबाट