धरान:दक्षिण एसियाकै नमुना मानिएको र नेपालमा स्वास्थ्य क्षेत्रको अग्रणी संस्था वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान दिन प्रतिदिन अस्तब्यस्त हुदै गएको छ ।

पछिल्लो समयमा सिनेट बैठकले प्रतिष्ठानको सबै समस्या हल गर्छ भन्ने अपेक्षा गरिएको थियो । प्रतिष्ठानलाई सही नेतृत्व गर्न नसकेको आरोप खेपिरहेका उपकुलपति डा.राजकुमार रौनियार बर्खास्तमा पनि परे । तर,प्रतिष्ठानले निकास पाउनुको साटो झन् समस्याको जालोमा जेलिदै गएको छ । अहिले प्रतिष्ठानमा २ जना उपकुलपति छन् । सरकारले रेक्टर डा.गुरु खनाललाई निमित्त उपकुलपतिको जिम्मेवारी दिएको छ भने अदालतबाट अल्पकालिन स्टे अर्डर पाएपछि पुनः रौनियारले उपकुलपतिको पदवहाली गरेका छन् । यसले प्रतिष्ठानमा संस्थागत गुटबन्दी पनि शुरु भएको छ ।

रौनियारको पक्षविपक्षमा कर्मचारी, चिकित्सकहरु विभाजित छन् । चार जना पदाधिकारी पनि दुई कित्तामा छन् । उपकुलपति डा.रौनियार र अस्पताल निर्देशक डा.गौरीशंकर साह एकतिर छन् भने रेक्टर डा. खनाल र रजिष्ट्रार तुलबहादुर श्रेष्ठ अर्कातिर छन् । अहिले प्रतिष्ठानमा झनै गुटबन्दी र द्धन्द बढेको छ । रौनियारको स्वागतमा पदाधिकारीहरुमध्ये अस्पताल निर्देशक डा.गौरीशंकर साह मात्र पुगेका थिए । प्रतिष्ठानका रेक्टर डा. खनाल र रजिष्ट्रार तुलबहादुर श्रेष्ठ गएनन् ।

bp-vc3

प्रतिष्ठान करिब २ बर्षदेखि नै अस्थिरता, गुटबन्दीको शिकार बनेको थियो । उपकुलपति भएका दुवै जनाले आफु कानुनीरुपमा वैध भएको दाबी गरिरहेका छन् । प्रतिष्ठानको इतिहासमा कुनै उपकुलपति बर्खास्तमा परेको र २ जना उपकुलति भएको यो पहिलो घटना हो । प्रतिष्ठानस्थित कर्मचारी कल्याण समाजका अध्यक्ष सुजेन्द्र गोले तामाङ प्रतिष्ठान इतिहासकै दुःखद घडीमा रहेको र यसले कर्मचारी, चिकित्सकहरुलाई थप अन्योल तथा गुटबन्दीमा फसाउने काम गरेको प्रतिक्रिया दिए । ‘हामी एकदमै असहज परिस्थितिमा छौ । महाशाखा, शाखा प्रमुखहरु, कलेज प्रमुख, विभागीय प्रमुखहरुले कस्को निर्देशन पालना गर्ने ? अन्योल र द्धिविधा भयो,’अध्यक्ष तामाङले भने,‘एकातिर निमित्त भिसि हुनुहुन्छ, अर्कोतिर भिसिकै हैसियतमा पदवहाली हुनुभयो, यसले त झनै अन्योल बढायो ।’

जो कर्मचारीहरु जता निकट छन्, त्यतै फाइल लिएर जाने अवस्था बनेको र यसले गुटबन्दीलाई संस्थागत बनाएर प्रतिष्ठानलाई धरासायी बनाउने उनले चिन्ता प्रकट गरे । नेतृत्वमा भएका दुवै जनाले आपसी समन्वय गरेर एक जना मात्र भिसि रहे उपयुक्त हुने र गुटबन्दीको अन्त्य हुने उनको सुझाव छ । सामान्य प्रशासन शाखाका वरिष्ठ प्रशासकीय सहायक महेश्वर राई पनि कर्मचारीहरु कस्को आदेश मान्ने भनेर अन्योल बढेको बताउँछन् । कतिपय अवस्थामा कर्मचारीले स्पष्टीकरणसमेत दिनुपर्ने अवस्था सृर्जना भएको उनले बताए । ‘शक्ति संघर्षले गर्दा कर्मचारीहरु असाध्यै तनावमा छौ, एक जनाले एउटा निर्देशन दिन्छ, अर्कोबाट अर्केखाले निर्देशन आउछ । कर्मचारीले के मान्ने के नमान्ने ?’उनले भने,‘स्पष्टीकरण खानुपर्ने अवस्था छ ।’

pic-2,Acting-Vc-Guru-khanal

पदीय दायित्व पुरा नगरेको भन्दै रौनियारलाई फागुन १७ गते बसेको ४२ औं सिनेट बैठकले पदमुक्त गर्ने निर्णय गरेको थियो । उक्त निर्णयलाई कुलपति तथा प्रधानमन्त्रीले फागुन २६ गते सदर गर्दै पदबाट हटाएका थिए । त्यसविरुद्ध रौनियारले चैत ३ गते उत्प्रेषण आदेशको माग गर्दै सर्वोच्चमा रिट हालेका थिए । त्यसमा सुनुवाई गर्दै न्यायाधिश प्रकाशमानसिंह राउतको इजलाशले चैत ४ गते अल्पकालिन अन्तरिम आदेश जारी गरेको थियो । रेक्टर खनालले निमित्त उपकुलपतिको जिम्मेवारी पाएकै दिन अदालतको आदेश आएपछि प्रतिष्ठानमा अन्यौलता सृर्जना भएको थियो । यही अन्यौलताको बीचमा मंगलबार रेक्टर खनालले निमित्त उपकुलपतिको कार्यभार सम्हालेका थिए ।