धरान(डेस्क) : रङ्गैरङ्गको पर्व फागु अर्थात होली सद्भाव र आत्मियता साटासाट गदै आज तराईमा मनाईदैछ ।

पहाडी र हिमाली जिल्लाहरुमा हिजो होली पर्व मनाइएको थियो । वसन्त ऋतुको आगमनको सुरुवातमा पर्ने फागु पर्व एकापसमा मैत्री भाव प्रकट गर्न सामूहिक रुपमा भेला भएर एक अर्कामा रंग दलेर मनाउने गरिन्छ ।

सत्य युगमा विष्णुभक्त प्रह्लादलाई मार्नका लागि हिरण्यकश्यपले विभिन्न जाल बुन्दा पनि नसकेपछि आगोबाट नजल्ने र नमर्ने वरदान पाएकी बहिनी होलिकालाई प्रह्लादलाई काखमा लिएर आगोमा बस्न लगाउँदा प्रह्लादलाई केही नभएको तर होलीका आफै जलेर नष्ट भएको प्रसंग यस पर्वसँग जोडिएको छ ।

असत्यमाथि सत्यको विजय भएको यस घटनापछि होली मनाउन थालिएको विश्वास गरिन्छ । तराईका धनुषा, सर्लाही, बारा, पर्सा, रौतहट, सिरहा, सप्तरी, झापा, मोरङ, सुनसरी, बाँके, बर्दिया, कैलालीलगायतका जिल्लामा आज बिहानैदेखि होली मनाउनेहरुको चहलपहल बढेको छ । होली पर्वलाई संयमित बनाउन सुरक्षा व्यवस्थासमेत कडा पारिएको छ ।