सुनसरी: इटहरी उपमहानगरको जारी चौथो नगरसभाले ब्यवसायकर र भूमिकर घटाएको छ ।

नगरसभाले आर्थिक ऐन २०७५को संसोधन विधेयक पारित गर्दै ब्यवसाय र भूमिकर घटाएको हो । राजश्व परामर्श समिति संयोजक उपयेमयर लक्ष्मी गौतमका अनुसार नयाँ ब्यवसाक दर्ता निःशुल्क गरिएको छ । महिला उद्यमीका लागि ब्यवसाय करमा छुट गरिएको छ । उत्पादनमुलक ब्यक्तिगत उद्यमगर्ने महिलाका लागि ४० प्रतिशत र सामुहिक उद्यम गर्ने महिलाहरुका लागि ६० प्रतिशत छुट गरिएको छ ।

यसैगरि आगलागी, जोखिमपूर्ण घटना, दैवि प्रकोपको सिफारिस निःशुल्क गरिएको छ । जन्म, मृत्यू, वसाइसराई दर्ता शुल्क ३५ दिनसम्म निःशुल्क गरिएको छ । राजनीतिक दल, नागरिक समाज र ब्यवसायीहरुको आग्रहमा करको दरमा फेरवदल गरिएको मेयर द्धारिकलाल चौधरीले जानकारी दिए । इटहरी उपमहानगर राजश्व परामर्श समितिका विज्ञ शान्तिराम खनालका अनुसार ब्यवसाय र भूमिकरलाई यसअघिको भन्दा ब्यवस्थित र वैज्ञानिक वनाउदै कर समेत घटाइएको छ । उनका अनुसार ब्यसायमा लगानी र नाफाको प्रकृति हेरेर उपयोग, बजार र मूल्य निर्धारणका आधारमा करको दर परिवर्तन गरिएको हो ।

प्रत्येक कारोवारलाई अलग अलग वर्गिकरण गरिएको छ । लगानीका आधारमा स्वरोजगार, साना ब्यवसाय, साना मझयौला, ठूला मझयौला र ठूला उद्योग भनेर वर्गिकरण गरिएको छ । स्वरोजगार, साना ब्यवसाय, साना मझयौला ब्यवसायमा पूँजी लगानी वा वार्षिक कारोवार मध्ये जुन कम हुन्छ, त्यसको आधारमा कर तिर्ने ब्यवस्था मिलाइएको छ । ठूला मझयौला र ठूला उद्योगले भने पूँजी लगानी वा वार्षिक कारोवार मध्ये जुन वढि हुन्छ त्यसको प्रमाण पेश गरेर कर तिर्नुपर्ने छ ।

यसैगरि भूमिको उत्पादकत्व र ब्यापारिक महत्वको आधारमा प्रतिधुरका हिसावले कर तिर्नुपर्ने ब्यवस्था गरिएको छ । यसअघिको भन्दा केही शिर्षकहरुमा भूमिकर कम गरिएको छ । जग्गा विक्रीगर्दा यसअधि सवै जग्गा जति छ, त्यसको आधारमा दस्तुर तिर्नुपर्ने ब्यवस्था भएकोमा परिमार्जन गरि जति जग्गा बिक्री गरिने हो त्यतिको मात्र शुल्क तिर्ने ब्यवस्था मिलाइएको छ । इटहरी उपमहानगरमा अन्य स्थानीय तहको भन्दा घर वहाल कर कम नै रहेकाले घर वहाल कर भने यथावत राखिएको छ । घर वहाल कर १२ प्रतिशत हुनुपर्नेमा ८ प्रतिशत मात्रै लिइदै आएको छ ।