धरान(डेस्क) : विराटनगरमा जारी पाँचौ साफ वुमन च्याम्पियनसीप फुटबलको उपाधिका लागि नेपाल, र भारतले प्रतिस्पर्धा गर्ने भएका छन् ।

बुधबार भएका सेमिफाइनलमा आफ्नो पक्षमा जीत निकाल्दै नेपाल र भारतले शुक्रबार हुने उपाधि भिडन्त पक्का पारेका हुन् । विराटनगरस्थित सहिद रंगशालामा श्रीलंकालाई ४–० ले हराउँदै नेपालले फाइनलमा स्थान बनाएको हो । नेपाल चौथो पटक च्याम्पियसिपको फाइलनमा पुगेको हो ।

पहिलो हाफमा १–० को अग्रता बनाएको नेपालले दोस्रो हाफमा ३ गोल गर्दै सहज जित हात पारेको हो । ४२ औँ मिनेटमा पुजनम जर्घामगरको गोलबाट अग्रता बनाएको नेपालका लागि साबित्रा भण्डारी, रेखा पौडेल र अनिता बस्नेतले एक एक गोल गरे । अनिताले ७३ औ मिनेटमा गोल गर्दै नेपालको अग्रता दोब्बर पारेकी थिइन् । ८३ औँ मिनेटमा साबित्राले तथा ८६ औ मिनेटमा रेखाले गोल गरेपछि नेपालले सहज जित हात पारेको हो । खेलमा अधिकांश समय श्रीलंकामाथी नेपालले दबाव बनाएको थियो ।

सोही मैदानमा भारतले बंगलादेशलाई ४–० ले हराएको छ । पहिलो हाफमा तीन गोलको अग्रता कायम गरेको भारतले दोश्रो हाफमा थप एक गोल गरेको थियो । भारतका लागि ईन्दुमती काथिरिसानले दुई गोल गरेकी थिइन् । खेलमा डालिमा छिब्बर, र मनिषाले एक एक गोल गरे । भारत र नेपालबीचको फाइनल खेल शुक्रबार हुनेछ ।