धरान: गएको १८ औं एसियाली खेलकुदमा नेपाललाई ऐहिासिक रजत पदक दिलाउन सफल प्याराग्लाइडर पाइलटहरु र धरानका युवा साइक्लिष्ट सम्मानित भएका छन् ।

एक्स्ट्रीम धरानले बुधबार साँझ धरान १५ स्थित बिग फुट फुटसलमा कार्यक्रम आयोजना गरी पदक विजेता खेलाडीहरुलाई सम्मान गरेको हो । गत १८ औं एसियाली खेलकुदमा रजत पदक विजेता प्याराग्लाइडर विशाल थापा, शुसिल थापा र युकेश गुरुङलाई धरानमा सम्मान गरिएको थियो । यस्तै, नेपालमा प्याराग्लाइडिङ खेलको विकासमा महत्वपुर्ण योगदान पुर्याएका पुर्व प्रशिक्षक एवं भारतीय च्याम्पियन अजय शर्मालाई पनि सम्मान गरिएको थियो । रजत पदक विजेता विजय गौतम र विमल अधिकारी भने कार्यक्रममा अनुपस्थित थिए ।

सोही कार्यक्रममा भर्खरै १९ औं राष्ट्रिय माउण्टेन बाइक क्रसकन्ट्री च्याम्पियनसिपमा जुनियर क्रसकन्ट्रीमा स्वर्ण पदक र डाउन हिलमा काँस्य पदक विजेता धरानका १८ बर्षीय दिपक जिमीलाई पनि सम्मान गरिएको छ । खेलाडीहरुलाई एक्स्ट्रीम धरानका अध्यक्ष लेखमणी जिमी, प्रमुख अतिथि एवं धरान उपमहानगरपालिकाकी कार्यवाहक प्रमुख मञ्जु भण्डारी सुवेदी, नेपाल ह्याण्डग्लाइडिङ एण्ड प्याराग्लाइडिङ एशोसिएशन(नेफा)का कोषाध्यक्ष प्रकाश पोख्रेलले सम्मान पत्रद्धारा सम्मान गरेका थिए ।

samman8

एसियाली खेलकुदमा दोस्रो हुदै नेपाललाई ऐतिहासिक रजत पदक दिलाएर गौरव बढाएकोले सम्मान गरिएको एक्स्ट्रीमका अध्यक्ष जिमीले बताए । यस्तै, धरानका युवा प्रतिभालाई पनि प्रोत्साहन गर्न साइक्लिष्टलाई पनि सम्मान गरिएको उनले बताए । प्रमुख अतिथि एवं कार्यवाहक प्रमुख भण्डारीले राज्यले वातावरण तयार गरिदिने हो भने नेपाली खेलाडीहरुले पनि विश्वस्तरमा नेपालको नाम राख्नसक्ने बताइन् । ‘हामीले वातावरण बनाइदिने हो भने, हाम्रा खेलाडीहरुले पनि अन्र्तराष्ट्रियस्तरमा पदक जित्न सक्छन् भन्ने देखिएको छ,’उनले भनिन् ।