ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “मदन भण्डारी राजमार्ग अवरुद्ध” शीर्षकको समाचार छापिएको छ । सुनसरीको चतरा हुँदै उदयपुरको गाईघाट, सिन्धुली, हेटौँडा भएर राजधानी काठमाण्डौँ जोड्ने मदन भण्डारी मार्गअन्तर्गत उदयपुरको त्रियुगा नगरपालिका ७ चुहाडेमा सडक विस्तार गर्ने क्रममा चुहाडेको ज्योति उच्च माविसहित स्थानीयबासीको दर्जनौँ घरहरु नै भत्कने भएपछि केही दिनदेखि सो मार्गको निर्माण कार्य अवरुद्ध भएको छ । मदन भण्डारी वैकल्पिक राजमार्ग निर्माण तथा विस्तार गर्ने क्रममा त्रियुगा नगरपालिकाको चुहाडे खण्डमा सडक विस्तार गर्ने क्रममा ज्योती उच्च माविको भवन पूर्णरुपमा भत्कने र स्थानीयवासीको घर समेत भत्कने क्रममा ४० औँ करोड रुपैयाँ नोक्सानी हुने कारण विद्यालय तथा स्थानीयवासीले मुआब्जा माग गरेपछि सडक विस्तार बन्द हुन पुगेको हो । ज्योति उच्च मावि चुहाडे विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमर दनुवारले सडक विस्तार क्रममा विद्यालयको रु पाँच करोडभन्दा बढीको भवन पूर्णरुपमा नष्ट हुने र स्थानीयबासीको दर्जनौँ घर भत्कने कारण पहिला मुआब्जा व्यवस्थापन नगरी सडक विस्तार गर्न नहुने बताए ।

त्यसैगरी आजको ब्लाष्ट टाइम्स दैनिकमा “पाँचथरमा नेकपा एकता प्रक्रिया” शीर्षकको अर्को समाचार पनि छापिएको छ । पाँचथर जिल्लाका आठ स्थानीय तहमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकता प्रक्रिया टुंगिएको छ । नेकपा पाँचथर विहीबार फिदिमस्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर एकता प्रक्रिया सम्पन्न भएको जनाएको हो । स्थानीय तहमा पार्टी एकतालाई अन्तिम रुप दिन बनेको कार्यदलले ८ स्थानीय तहमध्ये पाँच स्थानीय तहको नेतृत्व पूर्व नेकपा एमालेलाई दिने र बाँकि ३ स्थानीय तहको नेतृत्व पूर्व माओवादी केन्द्रलाई दिने गरी एकता प्रक्रियालाई टुंग्याएको हो ।

त्यसैगरी आजको ब्लाष्ट टाइम्स दैनिकमा “अश्लील कार्य गरेको आरोपमा होटल सञ्चालक पक्राउ” शीर्षकको समाचार छापिएको छ । होटलभित्र अवैधरुपमा अश्लील कार्य सञ्चालन गरेको आरोपमा प्रहरीले सिरहाको मिर्चैयास्थित एक होटल सञ्चालकलाई पक्राउ गरी मुद्दा चलाएको छ । होटलभित्र अवैध यौनजन्य क्रियाकलाप सञ्चालन गरेको भन्दै प्रहरीले राहुल होटलका सञ्चालक सञ्जय ठाकुर र ललिता ठाकुर शर्मालाई पक्राउ गरी सार्वजनिक अपराध मुद्दा चलाएको हो । होटलभित्र अवैधरुपमा युवती राखेर यौन क्रियाकलाप गराइरहेको स्थानीयबासीको गुनासोपश्चात सञ्चालकलाई पक्राउ गरी मुद्दा चलाईएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरीक्षक दिनेश गौतमले जानकारी दिए ।

नागरिक पूर्वेली : आजको नागरिक पूर्वेली दैनिकमा “जनकपुरमा आज पनि होली” शीर्षकको समाचार छापिएको छ । जनकपुरबाहेक तराइमा बिहीबार धुमधामसंग होली पर्व मनाएको छ । तर, जनकपुरमा भने शुक्रबार मात्र होली मनाउने तयारी छ । १५ दिनसम्मको धार्मिक परिक्रमा सकिएको भोलिपल्ट मनाइने परमपरानुसार जनकपुरमा तराईका अरु ठाउँभन्दा एक दिन ढिलो होली मनाउने गरिन्छ । होली पर्वका लागि केन्द्र सरकारले विहीबार तराईमा सार्वजनिक विदा दिएको छ भने प्रदेश २ सरकारले विहीबार र शुक्रबार २ दिन सार्वजनिक विदा दिएको हो ।

त्यसैगरी आजको नागरिक पूर्वेली दैनिकमा “मोरङमा होलीमा १९६ जना पक्राउ” शीर्षकको अर्को समाचार पनि छापिएको छ । होलीमा मादकपदार्थ सेवन गरी सवारी चलाउने र हुलहुज्जत गर्ने १ सय ९६ जना पक्राउ परेका छन् । जिल्ला प्रंहरी कार्यालय मोरङका प्रमुख मनोज केसीका अनुसार बिहीबार साँझसम्म १ सय ९६ जनालाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुमध्ये धेरैजसो नशालुपदार्थ सेवन गरेर सवारी चलाउने छन् । यस्तै झैझगडा र हुलहुज्जत गर्नेलाई पनि नियन्त्रणमा लिइएको केसीले जानकारी दिए ।