ब्रेक्जिटको समयसीमा लम्ब्याउन यूरोपेली नेताहरु सहमत भएका छन् ।

आगामी शुक्रबार ईयूबाट बेलायत छुट्टिनुपर्ने बाध्यात्मक परिस्थितिमा लचिलो बन्दै ईयूले बे्रक्जिटका लागि मे २२ सम्मको समयसीमा थप गर्ने जनाएको छ । त्यसका लागि आगामी साता ईयूले प्रस्तावित मस्यौदामाथि सहमति जनाउनुपर्नेछ । यदि प्रस्तावित सम्झौता ईयूलाई चित्त नबुझे, बे्रक्जिटका लागि जम्मा १२ दिन अर्थात आगामी अप्रिलको १२ सम्मको समय मात्रै थप गर्ने ईयूले स्पष्ट पारेको बीबीसीले उल्लेख गरेको छ ।

बेलायती प्रधानमन्त्री टेरिजा मेले ब्रेक्जिट सम्बन्धमा आफूले तयार गरेको मस्यौदामा सांसदहरुको समर्थन जुटाउन अर्को साता पुनः तेस्रो पटक मतदान गर्ने तयारी थाल्नुभएको छ । ब्रेक्जिटको सम्झौता सहित ईयू छाड्ने अडानमा रहेकी प्रधानमन्त्री मेले सांसदहरुको समर्थन जुटाउन हरसम्भव प्रयास गर्ने बताउनुभएको बीबीसीले उल्लेख गरेको छ ।