काठमाण्डौँ : रोजगार अनुमति प्रणाली (इपिएस)अन्तर्गत आज शुक्रबारदेखि प्रथम चरणको कोरियाली भाषा परीक्षाका लागि आवेदन खुला भएको छ ।

शुक्रबारदेखि १७ गतेसम्म आवेदन दर्ता गर्न सकिने व्यवस्था गरिएको छ । परीक्षा आवेदन फारम इपिएस कोरिया शाखाको वेबसाइटबाट भर्न सकिनेछ । आवेदन फाराम दर्ता गर्दा परीक्षार्थीले आफूले परीक्षा दिन चाहेको केन्द्र रोज्नु पर्ने इपिएस शाखाले जनाएको छ । पोखरा केन्द्रको हकमा पहिलो आउने १२ हजार मात्रले आवेदन फाराम भर्न सक्नेछन् । आवेदकले फाराम भर्दा राहदानीमा फोटो भइएको रङ्गीन पृष्ठ स्क्यान गरी अपलोड गर्नुपर्ने छ । त्यसैगरी अनिवार्य रुपमा आफ्नो इमेल ठेगाना र मोबाइल नम्बर उल्लेख गर्नुपर्ने छ ।

परीक्षा शुल्क चौबिस अमेरिकी डलर लाग्नेछ। आवेदकले जुन दिनमा फाराम दर्ता गराउने हो सो दिनको अघिल्लो दिनका लागि नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दरका हिसाबबाट हुन आउने नेपाली रुपैयाँ ग्लोबल आइएमई बैंक र आइएमई–पे तथा इ सेवामार्फत बुझाउन सकिने इपिएस शाखाले जनाएको छ । कोरियाली भाषा परीक्षा आगामी जेठमा सञ्चालन हुनेछ । आगामी जेठ २५ र २६ गते काठमाडौं र पोखरा केन्द्रबाट परीक्षा सञ्चालन गरिनेछ ।

परीक्षाको विस्तृत विवरण आगामी जेठ १९ गते प्रकाशन गरिनेछ । अठार वर्ष पूरा भई ३९ वर्ष ननाघेका नेपाली नागरिकले आवेदन गर्न सक्नेछन् । त्यसैगरी फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, गणतन्त्र कोरियामा गई गैरकानूनी रुपमा बसोबास गरी कोरियाबाट फिर्ता नपठाइएको, नेपाल सरकारले अन्य मुलुकमा जान रोक नलगाएका र कोरियामा ई–९(ई–१० भिषामा दुई कार्यकाल वा पाँच वर्षभन्दा बढी नबसेका व्यक्तिले आवेदन गर्न सक्ने इपिएस कोरिया शाखाले जनाएको छ ।