धरान/डेस्क : विराटनगरमा जारी पाँचौ साफ वुमन्स च्याम्पियनसिप फुटबलको उपाधिका लागि नेपालले डिफेण्डिङ च्याम्पियन भारतसँग प्रतिस्पर्धा गर्दैछ ।

यसअघिका सबै संस्करणको उपाधि आफ्नो नाममा लेखाएको भारत पाँचौ उपाधिको खोजीमा रहँदा नेपाल भने पहिलो उपाधि जित्ने योजनामा रहेको छ । घरेलु मैदानमा पहिलो पटक आयोजना गरिएको प्रतियोगिता मार्फत नेपाल उपाधिको खडेरी अन्त्य गर्न चाहान्छ । उपाधि भिडन्त विराटनगरस्थित सहिद रंगशालामा अपरान्ह ३ बजेपछि सुरु हुने छ ।

भारतविरुद्ध आक्रामक फुटबल खेल्दै उपाधि जित्ने एक मात्र लक्ष्यमा टोली रहेकाले सोही लक्ष्यमा मैदान उत्रने टोलीकी कप्तान निरु थापाले बताएकी छिन् । केही समय अघि मात्र हिरो वुमन्स गोल्डकपमा भारतलाई उसैको भूमिमा हराएकाले पनि नेपाली टोलीको मनोबल उच्च छ । आज सोही नतिजा पुनरावृती गराउँदै उपाधि उचाल्न नेपाली टोलीको प्रयास रहनेछ । सेमिफाइनलमा नेपालले श्रीलंकालाई तथा भारतले बंगलादेशलाई समान ४–० ले हराउँदै उपाधि यात्रा तय गरेका हुन् ।