धरान: होली पर्व मनाउने क्रममा हिजो बिहिबार धरानमा छुरा प्रहार गरी एकको हत्यामा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ । घटनामा संलग्न अन्य २ भने फरार छन् ।

इलाका प्रहरी कार्यालय धरानका अनुसार हिजो राती नै २ जनालाई पक्राउ गरिएको थियो । छुरा प्रहार गर्ने समुहमा ४ जना थिए । बिहिबार होलीको अवसरमा भानुचोकमा आयोजित कन्सर्ट हेरिसकेर घर फर्कदै गरेका धरान ८ का निमा तामाङलाई छुरा प्रहार भएको थियो । उनको वीपी प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको थियो भने उनका साथी धरान ८ कै १७ बर्षीय मिलन बिक घाइते भएका थिए । उनीहरुलाई धरान ९, आचार्य लाइनमा पछाडिबाट एक्कासी आक्रमण भएको थियो ।

इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुमन तिम्सिनाले छुरा प्रहार गर्ने समुहका २ जना पक्राउ परेको पुष्टि गरे । तर, नाम खुलाउन भने मानेनन् । अन्य २ जनाको खोजी तीब्ररुपमा भइरहेको र पक्राउ परेपछि मिडियालाई सबै जानकारी दिने उनले बताए । दुई जनालाई पक्राउ गरिसकेका छौ, बाँकी २ जनाको पनि खोजतलास भइरहेको छ, डिएसपी तिम्सिनाले भने, तिनीहरुलाई पनि चाडै पक्राउ गछौ ।

प्रहरीका अनुसार दुई समुहको पुरानै रिसइबीको कारणले हिजोको घटना भएको हो । यसअघि, मृतक निमाले पनि छुरा प्रहार गर्ने समुहको एक सदस्यलाई गएको फागुन पहिलो सातातिर छुरा हान्ने प्रयास गरेका थिए । त्यसै बेलादेखि उनीहरु प्रहरीको निगरानीमा थिए । घाइते मिलनका अनुसार उनीहरुलाई धरान ८, भोटेपुलका सुसान राई, मनिष लावती, निश्चल बिक र सरण राई मिलेर आक्रमण गरेको थियो । ती मध्ये २ जना पक्राउ परिसकेका छन् ।

तस्बिर क्याप्सन: वीपी प्रतिष्ठानमा उपचाररत घाइते मिलन बिक ।