काठमाडौं : प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिब नेत्रविक्रम चन्द (विप्लब) पक्राउ परेमा प्रचलित कानुन अनुसार उनीमाथि जन्मकैद सजाय हुने भएको छ ।

फागुन २८ को मन्त्रिपरिषद बैठकले विप्लब नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाउँदै उसका सबै गतिविधि नियन्त्रणमा संगठित र फौजदारी अपराधसम्बन्धी कानुन आकर्षित हुने घोषणा गरिसकेको छ । ‘सरकारले विप्लब समूहका गतिविधि विध्वंसात्मक र आपराधिक भएको घोषणा गरिसकेको अवस्थामा हामीले प्रचलित संगठित अपराध ऐन २०७० र फौजदारी अपराध (संहिता) ऐन २०७४ अनुसार कारवाही अघि बढाएका छौं’, प्रहरी स्रोत भन्छ, ‘देशभरका युनिटमा पनि सोहीअनुसार कारवाही गर्न सर्कुलर भइसकेको छ ।’

दुवै कसुर पुष्टि भए विप्लब तथा अन्य नेता/कार्यकर्तामाथि १० हजार रुपैंयाँ जरिवानादेखि जन्मकैदसम्मको सजाय हुनसक्ने ब्यवस्था छ । मन्त्रिपरिषदबाट प्रतिबन्ध लाग्नुअगावै विप्लब अर्धभूमिगत भइसकेका थिए । मन्त्रिपरिषदले नेकपामाथि प्रतिबन्ध लगाएसँगै विप्लबसहित सबै नेता कार्यकर्ता भूमिगत भइसकेका छन् ।

-नागरिक दैनिकबाट