इटहरी  : इटहरी उपमहानगरपालिकाले मेयर कपको तयारीलाई तीब्रता दिएको छ । भोलीबाट इटहरी रंगशालामा हुने फुटबल खेलबारे शनिबार (आज) पत्रकार सम्मेलन गर्दै तयारी तीब्र पारेको जनाएको हो । सुनसरी जिल्लाभरीका पालिका स्तरीय फुटबल प्रतियोगीता रहने र यसमा ८ वटा टीम सहभागी रहने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

चैत्र १५ गते सम्म सञ्चालन हुने प्रतियोगितामा इटहरी उपमहानगरपालिका, धरान उपमहानगरपालिका, इनरुवा, रामधुनी, दुहबी, बराहक्षेत्र नगरपािलका र गढी गाउँपालिकासहित ८ टीमको सहभागिता रहने खेल संयोजक जिल्ला फुटबल संघ सुनसरीका अध्यक्ष केशब कार्कीले जानकारी दिए । उनका अनुसार खेलको म्यान अफ दि म्याच हुनेले नगद २ हजार सहित आकर्षक उपहार प्राप्त गर्नेछन् भने खेलको बिजेता टीमले नगद १ लाख र उपविजेता टीमले नगद पचास हजार सहित आकर्षक उपहार प्राप्त गर्नेछन् । मेयर कप सञ्चालन समितिको आयोजना तथा इटहरी उपमहानगरपालिकाको संयोजनमा हुन लागेको खेलमा क्रिकेट, भलिबल र तेक्वान्दो प्रतियोगिताको समेत आयोजना गर्न लागेको पत्रकार सम्मेलनमा जानकारी गराइयो । चैत्र १४ गतेदेखि १७ गतेसम्म भलिबल खेलको आयोजना गर्न लागिएको खेल संयोजक प्रगति सेवा समाज इटहरीका अध्यक्ष बिक्रम थापाले जानकारी दिए ।

उनका अनुसार भलिबलमा प्रदेश १ भरीका ८ वटा टीम सहभागी रहनेछन् । विजेता हुने टीमले नगद १ लाख र उपविजेता हुने टीमले नगद पचास हजार सहित आकर्षक उपहार प्राप्त गर्नेछ । क्रिकेट खेल चैत्र २८ गतेबाट बैशाख ३ गतेसम्म आयोजना हुने क्रिकेट खेल संयोजक क्रिकेट संघ सुनसरीका अध्यक्ष सिपी पौडेलले बताए । उनका अनुसार सबै खेल इटहरी रंगशालामा भएपनि क्रिकेट खेल इटहरी ९ मा रहेको क्रिकेट मैदानमा हुनेछ । ‘केही तयारी बाँकी रहेकाले यसको पुरस्कार राशी कति राख्ने भन्ने बिषयमा हामी छलफल गर्नेछौँ,’ उनले भने । प्रदेश १ भरीका ८ वटा टीम सहभागी रहनेछन् । जसमध्ये इटहरीको रातो र हरियो गरी २ वटा टीम रहेको उनले जानकारी दिए ।

त्यस्तै तेक्वान्दो प्रतियोगिता बैशाख ३ गतेदेखि ६ गतेसम्म सञ्चालन गरिनेछ । पुरुष र महिला दुवैको प्रतियोगिता रहने खेल संयोजक इश्वर बिक्रम साहले जानकारी दिए । उनका अनुसार तौल समूहद्धारा खेल खेलाईने छ । पुरुष १० र महिला ६ गरी १६ जनाको सहभागिता रहनेछ । प्रथम हुनेले नगद १० हजार, द्धितीय हुनेले नगद ७ हजार र तृतीय हुनेले नगद ५ हजारसहित आकर्षक उपहार हात पार्ने उनले बताए । मेयर कपको समापन सँगै इटहरी उपमहानगरमा रहेका विद्यालयका महिलाहरुबीच अन्तर मावि स्तरीय प्रतियोगिताको तयारी गरिने इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमले जानकारी दिईन् । ‘यो बर्ष पर्याप्त बजेट नभएकाले हामीले खेल ब्यबस्थित गर्न सकेनौँ,’ पत्रकार सम्मेलनमा बोल्दै उनले भनिन्, ‘आगामी बर्ष पर्याप्त बजेट छुट्याएर काम गर्ने र महिला खेलाडी उत्पादन गर्ने कुरा प्राथमिकतामा राख्ने प्रण गर्दछौँ ।’
सबै खेलको लाग करीब २० लाख लाग्ने इटहरी उपमहानगरपािलकाका प्रमुख द्वारिकलाल चौधरीले बताए । उनले इटहरीलाई स्पोर्ट सिटीको रुपमा घोषणा गर्नका लागि आँफूले कुनै कसुर बाँकी नराख्ने बताए ।