मोरङ: पूर्वपश्चिम लोकमार्ग अन्तर्गत मोरङको कानेपोखरी गाउँपालिका ७ मा शनिवार भएको सवारी दुर्घटनामा हुँदा २ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ३ ख ६९१८ नम्बरको कन्टेनरलाई सोही दिशातर्फ आउँदै गरेको बा ११ च ७९४८ नम्बरको टाटासुमो गाडीले पछाडीबाट बिहान ५ बजे ठक्कर दिएको थियो । दुर्घटनामा सुमोमा सवार झापा अर्जुनधारा नगरपालिका ४ का ४७ बर्षीय रामकुमार आछामी र गौरादहका ५ बर्षीय प्रकाश मगरको मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।त्यसैगरी सुमोमा सवार गौरादहका ४५ बर्षीय योगेश न्यौपाने, काभ्रे जिल्लाका रमेश तामाङ, गौरादहका ३८ बर्षीय बबिता मगर, गौरादहकी १४ बर्षीय प्रबिका मगर, ५५ बर्षीय दुर्गा मगर घाइते भएका थिए ।

यस्तै, पाँचथर मिक्लाजुङ गाउँपालिका ५ का ४० बर्षीय हरिप्रसाद नेम्बाङ, सुमो चालक दमक नगरपालिका २ का ३७ बर्षीय कुलबहादुर रेग्मी र कन्टेनर चालक चितवन राप्ती नगरपालिका २ का ४८ बर्षीय लक्ष्मण अधिकारी घाइते भएका छन् । घाइते मध्ये १४ बर्षीय प्रबिका र ५५ बर्षीय दुर्गा मगर गम्भीर छन् । घाइते सबैलाई उपचारको लागि स्थानीय अस्पताल पथरी हुँदै थप उपचारको लागि विराटनगरस्थित न्यूरो अस्पतालमा पठाईएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । दुवै सवारी साधन प्रहरीको नियन्त्रणमा छ ।