धरान: नेपाल महिला उद्यमशिल संघ सुनसरीको प्रथम साधारणसभाले अध्यक्षमा पुनः यशोदा कायस्थ चयन गरेको छ ।

संघको शनिबार जेसिज भवनमा सम्पन्न साधारण सभाले ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । समितिको कार्यकाल ३ बर्षीय रहने छ । साधारण सभाले उद्यमी महिलाहरु पार्वती बराइली, अनिता अटल, सृजना भटराई, मिना घिमिरे, रन्जु सिग्देल, विन्दा श्रेष्ठ, गंगा श्रेष्ठ, अनु आले, सुनिता केसी र टिका लाखेलाई सदस्यमा सर्वसम्मत चयन गरेको छ । कार्यसमितिको पहिलो बैठकले पदाधिकारीको जिम्मेवारी बाँडफाँट गर्नेछ ।

सीपको अभावले आत्मानिर्भर बन्न नसकेका महिलाहरुलाई सिपयुक्त बनाउने र उद्यमी महिलाहरुको लागि बजार प्रवद्र्धन गर्ने उद्देश्यले २०७२ सालमा सुनसरी शाखा विस्तार गरिएको थियो । सुनसरी शाखाले सुनसरीको धरान वडा नं ६ पानवारी र वडा नं २० विष्णुपादुका, रामधुनी नगरपालिकामा मोति, क्रिस्टल र फेब्रिकको माला सम्बन्धि सिपमूलक तालिम आयोजना गरिसकेको छ । साथै, बजार व्यवस्थापन तथा सिप विकास प्रशिक्षण सम्पन्न गरिएको प्रगति प्रतिवेदन संघका सचिव सृजना भटराईले साधारणसभामा प्रस्तुत गरेकी थिइन् ।

yasodha-kayastha

यस्तै, संघको आर्थिक प्रतिवेदन कोषाध्यक्ष मिना घिमिरेले प्रस्तुत गर्दै विभिन्न कार्यक्रममा आएको रकम मध्ये खर्च कटाई ८५ हजार कोषमा रहेको जानकारी दिइन् । अध्यक्ष कायस्थले सुनसरीका हाल ३ वटा नगरपालिकामा समुह गठन गरेकये र आगामी दिनमा सुनसरी भरी उद्यमी महिला समुह गठन गरी एक घर एक सिपको योजनाबारे बताएकी थिइन् ।

बिजनेश प्लान ल्याउन कार्यवाहक प्रमुख भण्डारीको आग्रह

धरान उपमहानगरपालिकाकी कार्यवाहक प्रमुख मन्जु भण्डारीको प्रमुख अतिथ्यिमा साधारणसभाको उद्घाटन समारोहक सम्पन्न भएको थियो । कार्यवाहक प्रमुख मन्जु भण्डारीले महिलाहरुलाई आर्थिक रुपमा सबल र सशक्त बनाउनका लागि उपमहानगरपालिका सदैव सकरात्मक रहेको बताइन् । वडाहरुबाट आएको योजनाहरु अनुरुप बजेट छुटाईने हुदा २० वटा वडाका उद्यमी महिलाहरुले स्थानिय स्रोत र माग बमोजिम योजना ल्याउन पनि उनले आग्रह गरिन् । “धरान उपमहानगरपालिकामा उद्यमशिल लगानीमा ५०/५० को अवधारणा भएको हुदा तपाईहरुको विजनेस प्लान लिएर आउनुस्, सानै उद्योग व्यावसाय गर्दा उत्पादनमा हामीले जोड्दिनुपर्छ । धरान उपहानगरपालिकाले के कस्तो सहयोग गर्न सकिन्छ म पहल गर्न तयार छु,” उनले भनिन् ।

mahila-udhamii 1

विशेष अतिथि नेपाल महिला उद्यमशिल महासंघकी केन्द्रीय सदस्य रुपा श्रेष्ठले आर्थिकरुपमा सक्षम हुनका लागि महिलाहरु सिप सिकेर आत्मानिर्भर भएमा परिवारसँगै देशमा नै समृद्ध हुने बताइन् । महेन्द्र बहुमुखी क्याम्पस धरानका सहप्रध्यापक ईन्दिरा मिश्रले नेपालको संविधानले महिलाहरुको लागि ३३ प्रतिशत अधिकार स्थापित गरेकोले यसको उपयोग गर्नुपर्नेमा जोड दिइन् । महिला संजाल धरान उपमहानगर समिति अध्यक्ष सबिता राईले महिलाहरुले आफनो पहिचान बनाउन अगाडि बढिरहेको बताउदै महिला उद्यमशिल भई आर्थिकरुपमा सक्षम हुनका साथै नेतृत्व तहमा पनि पँहुच बढाउनु पर्ने विचार राखिन् । त्यसै गरि सुनसरी उद्योग वाणिज्य संघको प्रथम उपाध्यक्ष विजय श्रेष्ठले आर्थिक समृद्धिको लागि हरेक घरमा उद्यम हुनुपर्ने धारणा राखे । जेसिस अध्यक्ष मनिष शाही, निर्वाचन अधृकत तथा समाजसेवी केशव श्रेष्ठले पनि विचार राखेका थिए ।