ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “धनकुटामा उपप्रमुखले भत्काइन् सडक” शीर्षकको समाचार छापिएको छ । धनकुटा नगरपालिकाले आज ७५÷७६ मा सञ्चालन गरेको भौतिक पूर्वाधारका कार्यक्रमहरुमध्ये वडा नं. ७ स्थित तमोर भ्याली सडक खण्डमा भइरहेको रिङरोड सडकको निर्माण कार्य गुणस्तरहीन भइरहेको पाइएको छ । अनुगमनको क्रममा रिङरोड अन्तर्गत निर्माणाधीन डे«न धनकुटा नगरपालिकाकी उपमेयरले भत्काइदिएकी छिन् । धनकुटा न.पा. ७ तमोर भ्याली सडक खण्डमा शहरी सडक निर्माण कार्य भइरहँदा मापदण्डविपरीत काम भइरहेको जनगुनासो स्थानीय उपभोक्तहरुबाट नगरपालिकामा आएपछि उपप्रमुख एवम् संयोजक शकुन्तला बस्नेतले अनुगमन समितिकी शुक्रबार स्थलगत सडक अनुगमन गर्दा गुणस्तरहिन काम भइरहेको फेला परेको हो । गुणस्तरहिन काम भइरहेको फेला परेपछि नगर उपप्रमुख बस्नेतले झन्डै २ सय मिटर सम्पन्न गरिसकेको काम आफैले भत्काइदिएकी छन् । उपप्रमुख बस्नेतले जनताले तिरेको करले नगरको विकास निर्माण भइरहेको बताइन् ।

त्यसैगरी आजको ब्लाष्ट टाइम्स दैनिकमा “प्रदेश नं. १ लाई अलैँचीको राजधानी घोषना गरिने” शीर्षकको अर्को समाचार पनि छापिएको छ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश १ लाई कृषिमा आत्मनिर्भर प्रदेश बनाउन प्रदेश सरकार नीतिगत रुपमा लागिपरेको बताएका छन् । नेपाल अलैंची व्यवसायी महासंघको छैठौं वार्षिक साधारणसभा एवं तेस्रो महाधिवेशनको समुद्घाटन सत्रलाई धनकुटाको हिलेमा सम्बोधन गर्दै मुख्यमन्त्री राइले त्यस्तो बताएका हुन् । सो अवसरमा उनले प्रदेश नं. १ कृषिजन्य वस्तुहरु अलेंची, अदुवा, चिया, एवोकार्डो, खाद्यान्नलगायत जडीबुटीको राजधानी भएकाले प्रदेश सरकारले उच्च प्राथमिकताको साथ कानुनहरु निर्माण गरेर कृषिलाई आत्मनिर्भर बनाउन अघि बढ्ने बताए । मुख्यमन्त्री राईले प्रदेश १ मा नेपालमा उत्पादन हुने कुल उत्पादनको ८६ प्रतिशत अलैंची उत्पादन हुने भएकाले प्रदेश सरकारको तर्फबाट चालु अधिवेशनबाट अलैंचीको बोर्ड गठन गर्ने बारे सम्बोधन हुने बताए ।

उद्घोष : आजको उद्घोष दैनिकमा “प्रदेश प्रमुखद्वारा खेलाडी सम्मानित” शीर्षकको समाचार छापिएको छ । ५ औँ समाफ महिला खेलकुद प्रतियोगिता २०१९ मा सहभागी नेपाली खेलाडी तथा प्रशिक्षकहरुलाई १ नम्बर प्रदेशका प्रदेश प्रमुख प्राडा गोविन्द बहादुर तुम्वाहाङले सम्मान गरेका छन् । सरकारी निवासमा शनिबार आयोजित कार्यक्रममा खेलाडी र प्रशिक्षक ३० भन्दा बढीलाई अविर र खादा ओढाएर उनले सम्मान गरे । फाइनल खेलमा भारतसंग ३–१ गेलबाट उपविजेता बनेको नेपाली खेलाडीलाई अनुशासित र मर्यादित भएर खेलेकोमा तुम्वाहाङले प्रशंसा गरे ।

नागरिक पूर्वेली : आजको नागरिक पूर्वेली दैनिकमा “अवकाश पत्रसंगै सुविधाको चेक देउ” शीर्षकको समाचार छापिएको छ । ज्यादै न्युन जनशक्तिका बीच माध्यमिक शिक्षा परिक्षा –एसईई) को चटारोमा परेका शिक्षा विकास तथा समन्वय एकाइहरुमा चेक र अवकास पत्र संगै पाउनुपर्ने माग राख्दैँ अवकाशमा परेका शिक्षकहरुले घेर्न थालेका छन् । ताप्लेजुङको फुङ्लिङ नगरपालिकास्थित एक विद्यालयमा कार्यरत हरि खतिवडा यस्तै माग लिएर शुक्रबार समन्वय एकाइको कार्यालय पुगे । एक हातमा अवकाश पत्र र अर्को हातमा सुविधावापतको रकमको अख्तियारी दिनुपर्ने उनको माग थियो । ‘अवकाशको पत्र हात परिसक्यो, पाउने सुविधाका बारेमा प्रक्रिया मात्र सुरु भएको छ’, खतिवडाले भने । शिक्षा विकास तथा समन्वय एकाइका यहाँस्थित प्रमुख हेमबहादुर पालुङवाले एसइई व्यस्तताका बेला अवकाशसंगै चेक पाउनुपर्ने मागले थप हैरानीमा परेको बताए ।