ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “बलात्कार आरोपमा पूर्वअसई पक्राउ” शीर्षकको समाचार छापिएको छ । इटहरीमा एकै व्यक्तिले तीनजना बालिकालाई जवरजस्र्ती करणी गरेको आरोपमा पक्राउ परेका ५० बर्षीय देविबहादुर लिम्बुलाई आज म्याद थप गरि अनुसन्धान थालिएको छ ।
इटहरी ३ का लिम्बुले खानेकुराको प्रलोभन देखाइ सोही स्थानका तीन बालिकाहरुलाई जवरजस्र्ती करणी गरेको आरोपमा शनिबार पक्राउ परेका थिए । उनलाई इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको थियो ।
स्थानीयले उनलाई नियन्त्रणमा लिने क्रममा भागेपछि प्रहरीको सहयोगमा पक्राउ गरिएको थियो । लिम्बुले एक बालिकालाई एक बर्षदेखिलगातार जवरजस्र्ती करणी गर्दै आएको बताइएको छ । अन्य दुई बालिकालाई पनि जवजस्र्ती करणीको प्रयास गरे पछि रहस्य खुलेको छ । पीडित बालिकाहरुका परिवारले इलाका प्रहरी कार्यालय इटहरीमा लिम्ब बिरुद्ध किटानी जाहेरी दिए पछि उनलाई पक्राउ गरि म्याद थप गरिएको इन्स्पेक्टर बुद्धि चौलागाईले जानकारी दिए ।

त्यसगरी आजको ब्लाष्ट टाइम्स दैनिकमा “चिट चोराउने २ परीक्षा निरीक्षक निष्काशित” शीर्षकको अर्को समाचार पनि छापिएको छ । आइतबारबाट सुरु भएको एसईई परीक्षामा चिट चोराउने मोरङका २ जना निरीक्षकलाई निष्काशित गरिएको छ । मोरङको धनपालथान गाउँपालिका ६ स्थित सरस्वती माध्यमिक विद्यालय दादरबेरीया परीक्षा केन्द्रले २ जना परीक्षा निरीक्षकलाई निष्काशित गरेको हो । परीक्षा केन्द्रमा खटिएका शिक्षक सञ्जय चौधरी र शिक्षिका शीलाकुमारी राजवंशीलाई अमर्यादित तरिकाले परीक्षा गराएको भन्दै एसइई परीक्षा अवधिभर परीक्षा निरीक्षकबाट हटाएको हो ।

नागरिक पूर्वेली : आजको नागरिक पूर्वेली दैनिकमा “फिदिममा खानेपानीको हाहाकार” शीर्षकको समाचार छापिएको छ । खानेपानीको हाहाकार भएपछि फिदिम नगरपालिकाले अहिले फिदिम बजारवासीलाई घरघरमै लगेर पानी वितरण गरेको छ ।

फिदिम खानेपानी उपभोक्ता समितिबाट सञ्चालनमा ल्याइएको खानेपानीको पाइप फुटेर बिग्रिएपछि अहिले फिदिम बजारमा खानेपानीको अभाव भएको हो । खानेपानीको अभाव भएकाले दमकलबाट घरघरमै पानी वितरण गरिएको फिदिम–४ का वडाध्यक्ष प्रकाश गुरुङले बताए ।

पहिलो दिनमा ९ पटक दमकलबाट पानी ओसारेर वितरण गरिएको नगरपालिकाका सूचना अधिकारी डम्बरबहादुर आङदेम्बेले बताए । फिदिम बजार, जोरसाल र थाक्ले क्षेत्रमा पानी वितरण गरिएको उनले बताए ।

मर्मत भएर धारामा पानी आउन अझै केही दिन लाग्ने बताइएको छ । धारामा पानी नआउनजेलसम्म पानी वितरण गरिने नगरपालिकाका प्रमुख ओनाहाङ नेम्बाङले बताए । खानेपानीको पाइप फुटेकाले मर्मत गरी धारामा पानी आउन अझै केही दिन लाग्ने उपभोक्ता समितिका अध्यक्ष गजाधर भट्टराईले बताए ।

उद्घोष : आजको उद्घोष दैनिकमा “प्राज्ञिक स्वायत्ततामा हस्तक्षेप अस्वीकार्य” शीर्षकको समाचार छापिएको छ । पूर्वाञ्चल विश्वविद्यालय (पूवि) मा संघीय सरकारको ठाडो हस्तक्षेप स्वीकार नगर्ने भन्दै मोरङ कांग्रेस आन्दोलित भएको छ । सरकारले विश्वविद्यालयको प्रचलित विधि विधिान मिच्ने गरी ठाडो हस्तक्षेप गरेको भन्दै मोरङ कांग्रेस आन्दोलनमा उत्रिको हो ।पूवि कार्यकारी परिषदले नियुक्ति गरेका पदाधिकारी र सेवा आयोगले वैधानिक ढंगबाट लिन खोजेको परीक्षामा प्रधानमन्त्रीको निर्देशनमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ठाडो हस्तक्षेप गरेको कांग्रेसको आरोप छ ।