इलाम : सीमा नाका इलामको पशुपतिनगरमा अध्यागमन कार्यालय स्थापना गरिएको छ । कार्यालय स्थापना भए पनि उद्घाटन हुन नसक्दा अझै कामकाज शुरु भएको छैन ।

उक्त कार्यालयका लागि सरकारले आठ कर्मचारीको दरबन्दी स्वीकृत गरिसकेको छ । कार्यालय प्रमुखको जिम्मेवारी पाएका अध्यागमन अधिकृत गणेश मिश्र कार्यालयको व्यवस्थापनमा खटिएको छ । अध्यागमन कार्यालय नहुँदा भारतलगायत तेस्रो मुलुकबाट आउने पर्यटकको सङ्ख्या पत्ता लाग्न मुस्किल थियो ।

भारतलगायत तेस्रो देशका पर्यटकलाई इलाम भित्र्याउन अध्यागमन कार्यालय अत्यावश्यक भएकोे जिल्लाका सरोकारवालाको भनाइ थियो । सीमामा नेपालले अध्यागमन कार्यालय स्थापना गर्दैमा सबै समस्या समाधान नहुने भएकाले भारतले समेत सीमामा अध्यागमन कार्यालय स्थापना गर्नुपर्ने उनीहरूको सुझाव थियो ।

भारतलाई समेत सीमामा अध्यागमन कार्यालय स्थापना गराउन परराष्ट्र मन्त्रालयमार्फत पहल भइरहेको अध्यागमन अधिकृत मिश्रले जानकारी दिए । उक्त कार्यालयले तेस्रो देशका नागरिकलाई प्रवेशाज्ञा र प्रस्थानको अनुमति प्रदान गर्नेछ ।