धरान: होली पर्व मनाउने क्रममा गएको बिहिबार धरानमा छुरा हानी हत्या गर्ने चार जनालाई ७ दिनको म्याद थप भएको छ ।

जिल्ला अदालत सुनसरीले उनीहरुलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । बिहिबार छुरा प्रहार गरी धरान ८, सिद्धार्थ मार्गका २० बर्षीय निमा तामाङको हत्या भएको थियो भने १७ बर्षीय मिलन बिक घाइते भएको थिए । उक्त घटनामा संलग्न ४ जनालाई प्रहरीले २ दिनभित्र नै पक्राउ गरेको थियो ।

निमाको हत्यामा संलग्न धरान ८ का १८ बर्षीय सुसान्त लिम्बु, १७ बर्षीय निश्चल बिक, १८ बर्षीय शरण राई र धरान ७ स्थित पानवारी बस स्टेण्डका १८ बर्षीय मनिष लावती लिम्बु पक्राउ परेका छन् । प्रहरीले उनीहरुमाथि कर्तव्य ज्यान मुद्दामा दर्ता गरेको छ । होलीको दिन भानुचोकमा आयोजित कन्सर्ट हेरेर फर्कदै गरेका निमा र मिलनमाथि धरान ९ बगैचालाइनमा छुरा प्रहार भएको थियो । उनीहरुलाई ४ जनाको समुहले पछाडिबाट एक्कासी छुरा प्रहार गरेका थिए । घटनालगत्तै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याइएका निमाको उपचारको क्रममा मृत्यु भएको थियो ।

murder-holi

इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुमन तिम्सिनाका अनुसार पुरानो रिसइबीले वदला लिन निमामाथि छुरा प्रहार भएको थियो । छुरा प्रहार गर्नेहरुमध्ये एक जनालाई निमाले गएको फागुन पहिलो साता छुरा प्रहार गर्ने प्रयास गरेका थिए । त्यसैको वदला लिन बिहिबार निमामाथि छरा प्रहार भएको तिम्सिनाले बताए । छुरा प्रहार गर्नेहरु दुव्र्यसनको लतमा भएको पनि प्रहरीले जनाएको छ । पक्राउ परेका ४ जनामध्ये ३ जना १९ बर्षका र एक जना १७ बर्षका नाबालक छन् । ‘१८ बर्ष मुनिका नाबालक, किसोरहरु र ३० बर्ष नकटेका युवाहरु अत्यधिक दुव्र्यसनमा फसेका छन्,’डिएसपी तिम्सिनाले भने,‘यो खालको नयाँ पुस्तालाई कुनै डर, त्रास नै छैन । यो ज्यादै चिन्ताको बिषय हो ।’